आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुबाट पिसिआर परीक्षणको माग गर्दै भोक हडताल
कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेसनमा रहेका संक्रमितहरुले पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै भोक हडताल गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरस्थित एक आइसोलेसनमा रहेका २७ संक्रमितहरु भोक हड्तालमा उत्रिएका हुन् ।
सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको छ । तर उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण रहे नरहेको पुष्टि गर्न आग्रह गरेका हुन् ।
समाचार अनुसार संक्रमणकोे पुष्टि भएपछि १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएपछि पुनः पिसिआर परीक्षणको माग गर्दै भोक हड्ताल सुरु गरेका हुन् ।
उता वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढकालले भने संघीय सरकारको मापदण्ढ अनुसार नै १४ दिन आइसोलेसनमा राखेर घर पठाउन लागिएको बताउनुभयो ।
पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरुले दिनभर खाना समेत खाएका छैनन् । आइसोलेसन व्यवस्थापनले उपलब्ध गराइएको खाना नखाएर खुला चौरमै छाडेका छन् ।
प्रतिक्रिया राख्नुहोस्