राजनीति

मोदीको हातमा ग्रेटर नेपालको नक्सा : भूमि फिर्ताको माग

सुगौली सन्धिअघिको नेपाल कायम हुनपर्छ भन्दै अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटकपटक खेलेकोमा धन्यवाद दिएको छ ।

सन् १९४७ जुलाई १८ तारिखमा संयुक्त अधिराज्य ग्रेट ब्रिटेनको संसद्ले पारित गरेको “इन्डियन इन्डिपेन्डेन्स एक्ट” (भारतीय स्वतन्त्रता कानुन)को ७७ औँ वर्ष प्रवेशको अवसर पारेर एक पत्र पठाउँदै मोर्चाले मोदीलाई धन्यवाद ज्ञापन गरेको हो ।

धन्यवाद पत्रसँगै मोदीलाई ग्रेटर नेपालको नक्सा पनि पठाएको मोर्चाले जनाएको छ । पत्रमा मोदीलाई धन्यवाद दिइएको मात्र होइन ग्रेटर नेपालको जमिन फिर्ता गर्न पनि माग गरिएको छ ।

गत मे महिनाको २८ तारिखमा इन्डियाको नवनिर्मित संसद् भवनमा अखण्ड भारतको राजनीतिक नक्सा राखेको प्रतिक्रियास्वरूप नेपालमा ग्रेटर नेपालको नक्सा राखिएको हो भन्दै मोर्चाले ग्रेटर नेपालको नक्सा अखण्ड भारतको नक्साविरुद्धको प्रतिक्रियामात्र होइन, इन्डियाको ज्यादतीविरुद्धको नैतिक लडाइँ पनि हो भनेको छ ।

मोर्चाले मोदीलाई पठाएको पत्रमा अगाडि भनिएको छ, “अखण्ड भारत कति प्रतिशत यथार्थ हो छलफलको विषय हुनसक्छ तर ग्रेटर नेपाल शत प्रतिशत यथार्थ हो ।”

मोर्चाले २०१९ को नोभेम्बर २ मा नेपालको कालापानी क्षेत्रलाई इन्डियाको राजनीतिक नक्सामा राखेर गरेको गल्ती नसच्याएर सबै नेपालीहरूमा कालापानीमात्र होइन अब नालापानी पनि चाहिन्छ भन्ने राष्ट्रवादी भावनाको विस्तार गर्न सहयोगी भूमिका खेलेको स्मरण गराइएको छ ।

पत्रमा गत मे महिनाको २८ तारिखमा त्यहाँको संसद् भवनमा अखण्ड भारतको नक्सा राखेर नेपालमा ग्रेटर नेपालको नक्सा राख्ने र यसलाई व्यापक रूपमा विस्तार गर्ने वातावरणको निर्माण गर्न ठूलो योगदान पुर्‍याएको भन्दै मोदीलाई धन्यवाद दिएको छ ।

नेपालीहरूलाई ग्रेटर नेपालको अवधारणामा सङ्गठित हुन लामो समय लाग्न सक्नेमा मोदीको यो कदमले त्यो समय आशातीत रूपमा छोटिएको छ भन्दै मोर्चाले नेपालीलाई घरघरमा ग्रेटर नेपालको नक्सा राख्न मोदीको उक्त कदमले उत्प्रेरित गरेको जनाएको छ ।

“अखण्ड भारतमा नेपालको भूमि समावेश गर्नुको कुनै ठोस आधार देखिँदैन तर ग्रेटर नेपालको नक्सामा इन्डियाली भूमि राखिएको छ भन्नु १९४७ जुलाई १८ को ‘इन्डियन इन्डिपेन्डेन्स एक्ट’ विरुद्धको ध्वंसात्मक क्रियाकलाप हो” भन्दै मोर्चाले अखण्ड भारतको काल्पनिक र भ्रामक नक्साबाट नेपाली भूभाग हटाई ग्रेटर नेपालको सिमाना टिस्टा-सतलज हो भन्ने वास्तविकता स्विकार्न इन्डियाली प्रधानमन्त्री मोदीलाई विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.