क्रिकेटखेल

भारतलाई पराजित गर्दै पाकिस्तानले जित्यो एसीसी मेन्स इमर्जिङ एसिया कपको उपाधि  

भारत ‘ए’ लाई पराजित गर्दै पाकिस्तान ‘ए’ ले श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारत ‘ए’ लाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान ‘ए’ ले उपाधि जितेको हो ।

श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५२ रन बनाएको थियो । पाकिस्तानका लागि तैयव ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १०८ रनको शतकीय पारी खेले भने दुई ओपनर सहबाज फरहाम र सैब अयबले अर्धशतकीय पारी खेल्दै क्रमश: ६५ र ५९ रन बनाए ।

यी दुईले पहिलो विकेटको लागि १२१ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै मुबासिर खानले ३५ रन बनाई आउट भए भने ओमिर युसुफले ३५ रन जोडे । भारतका लागि रियान पराग र राजवद्र्धन हङ्गेरकरले समान २-२ विकेट लिए भने हर्षित राना, मानव सुतार र निसान्त सिधुको भागमा समान १-१ विकेट रह्यो।

पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा २२४ रनमा अलआउट भयो । भारतका लागि ओपनर अभिषेक शर्माले  ६१ रनको अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान यश धुलले ३९ रन जोड्दा साई सुदर्शनले २९ र रियान परागले १४ रन बनाए ।

पाकिस्तान ‘ए’ का लागि सोफियान मुकिमले ३ विकेट लिए भने मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालको भागमा समान २-२ विकेट रह्यो । पाकिस्तानले लगातार दोस्रो पटक उपाधि जितेको  हो । यसअघि २०१९ मा पाकिस्तानले उपाधि जितेको थियो । यस प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.