प्रदीप पौडेलले लिए आमाबाबु गुमाएकी छ वर्षीया बालिकाको शिक्षाकोे जिम्मा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी लिने घोषणा गर्नुभएको छ । शनिबार पीडितको घरमा पुगेर उहाँले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाउने जानकारी दिनुभयो ।
अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् । गतअसार २९ गतेको पहिरोले पुरिएर बालिकाको बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षीया नानुमाया थापाको अकालमा निधन भएको थियो । पहिरोले पुरिएर अमिनाकी बहिनी पाँच वर्षीया अमिषा थापा, काका वर्षीय महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत निधन भएको थियो ।
काँग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पुरिएर एकै परिवारका पाँच जनाको निधन भएको घटना दुःखद् रहेको र शोकको घडीलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गर्नुभयो ।
यसैगरी तनहुँ युवा सञ्जाल र नेपाल रेडक्रस सोसाइटी कोटदरबारको सक्रियतामा अमिनाको शिक्षामा सहयोग पु¥याउन रु दुई लाख २१ हजार २५ सङ्कलन भएको छ । उक्त रकम अमिनाको बैंक खाता खोली जम्मा गरिने सोसाइटीका उपशाखाका सभापति इन्द्रबहादुर आलेले जानकारी दिनुभयो । अमिनाको स्याहारसुसार हाल हजुरबुवा आम्बबहादुर थापाले गर्दै आउनुभएको छ । भैँसीकिलेमा थापा परिवारको चार घर बसोबास गर्दै आएको छ । उक्त ठाउँ पहिरोको जोखिममा रहेकाले ऋषिङ गाउँपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न पहल गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
मध्यरातमा राजमार्ग एकतर्फी सञ्चालन
मर्मतकार्य जारी रहेर शनिबार बिहानैदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड गएरातिदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको छ । राजमार्ग अवरुद्ध भएर दिउँसोदेखि नै सडकमै रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।
पहिलो चरणमा दमौलीतर्फबाट गएका सवारी र दोस्रो चरणमा डुम्रेतर्फबाट आएका सवारीलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उक्त सडकखण्ड आइतबारसम्ममा दुईतर्फी सञ्चालनमा आउने बताइएको छ । साउन ६ गते सडक भासिएर पटक–पटक अवरुद्ध हुँदै आएको राजमार्ग शनिबार बिहानैदेखि बन्द गरेर मर्मतको काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर सचिन श्रेष्ठले भत्किएको सडकखण्डमा ग्याविनजाली भरेर सडक सञ्चालन गर्ने काम भइरहेको जानकारी दिनुभयो । काम नसकिएकाले आइतबारसम्ममा सडक दुईतर्फीरूपमा सञ्चालनमा आउन सक्ने उहाँले बताउनुभयो ।
शनिबार नै उक्त सडकखण्डमा एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनलाई भने आवतजावतमा सहज बनाइएको थियो । निरन्तर परेको वर्षाका कारण मङ्गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सडक भासिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेपछि दिगोरूपमा नै सडक मर्मतको काम शुरु गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्