सत्ता स्वार्थको नमूना- आधिकारिक रुपमा विभाजित जसपा
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता, ठाकुरलाई दल दर्ताको अवसर
सत्तामा कुन पक्षलाई समर्थन गर्ने र कसलाई नगने भन्ने विवादले अन्ततः जनता समाजवादी पार्टी (जसपा) आधिकारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले एकीकरण भएको एक वर्ष नबित्दै जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएर महन्थ ठाकुर पक्षलाई अर्को दलदर्ताका लागि अवसर दिएको छ ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै उपस्थित गराएर सनाखत गरेपछि यादव पक्षलाई आधिकारिकता दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको इजलासले उपेन्द्र यादव पक्षलाई बहुमतका आधारमा आधिकारीकता दिने निर्णय गरेको र महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएको हो । दल दर्ताका लागि कति दिन दिइएको हो भन्ने यकिन नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
सर्वोच्च अदालतले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको मागबमोजिम आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएको हो ।
५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले आयोगमा उपस्थित भएर सनाखत गरेका थिए । यस्तै, महन्थ ठाकुरका पक्षमा १६ जना सदस्यले समर्थन गरेका थिए । निलम्बित सांसदसमेत रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए ।
प्रतिक्रिया राख्नुहोस्