जन सरोकार

निर्मला पन्त बलात्कार र हत्या : पाँच वर्षमा पनि पत्ता लागेन दोषी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको पाँच वर्ष बितेको छ । देश विदेश हल्लाएको यो प्रकरणका दोषीको अझै पहिचान हुन सकेको छैन भने पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

विसं २०७५ साउन १० अपराह्न २ बजेतिर विद्यालयको गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी निर्मला त्यहीँबाट हराएकी थिइन् । त्यसको भोलिपल्ट उनको मृत शरीर उनकै घर नजिकको उखुबारीमा भेटिएको थियो ।

यसबीच एड्भोकेसी फोरम–नेपालले निर्मला पन्तको क्रूर हत्या र बलात्कार गरिएको पाँच वर्ष बितिसक्दा पनि पीडितले अहिलेसम्म न्याय पाउन नसकेकोमा चिन्ता व्यक्त गरेको छ ।

उक्त घटनामा निष्पक्ष र स्वतन्त्ररूपले तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानुनबमोजिम सजाय गर्न माग गरिएको फोरम नेपालका निर्देशक विकास बस्नेतले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“पीडकमाथि अनुसन्धान तथा अभियोजन नगरिए देशमा दण्डहीनता थप संस्थागत हुन्छ,” प्रेस विज्ञप्तिमा भनिएको छ, “घटनामा सत्य तथा न्यायको निरन्तर माग गर्ने पीडित परिवार, मानव अधिकार रक्षक तथा कानुन व्यवसायीहरूसँग एड्भोकेसी फोरम–नेपाल ऐक्यबद्धतासमेत व्यक्त गर्दछ ।”

राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गरी २०७६ पुसमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यसमा आयोगले सरकारलाई चारबुँदे सिफारिस र २४ बुँदे निर्देशन दिएको थियो ।

आयोगको सिफारिस र निर्देशन अहिलेसम्म लागू गरिएको छैन । निष्पक्ष अनुसन्धान तथा आरोपितहरूको अभियोजनका लागि जनताले माग गरे पनि अनुसन्धान भने अझैसम्म पूरा हुन सकेको छैन ।

व्यापक जनदवावपछि सो हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुलाई नै प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेकालाई यातना दिएर बयान लिएको अभियोगमा निलम्बन गरी मुद्दा चलाइएको थियो ।

घटनाप्रति व्यापक बिरोध प्रदर्शन भएपछि प्रहरीले दिलीपसिंह विष्टलाई संभावित अभियुक्तका रुपमा पक्राउ गरेको थियो। तर, दिलीपलाई प्रहरीले यातना दिएर बयान लिएको र प्रमाण नष्ट गरेको आरोपमा जीसीसहित आठ जना प्रहरी विरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरियो।

कञ्चनपुर जिल्ला अदालतले बिहीबार उनीहरू आठै जनामाथि लगाइएको अभियोग पुष्टि हुन नसक्ने भन्दै सफाइ दिएको थियो । त्यसयता निर्मला पन्त हत्या प्रकरणको चर्चा चलिरहे पनि अनुसन्धानको विषय कहाँ पुग्यो र प्रहरी किन अपराधी पक्राउ गर्न असफल रह्यो भन्ने विषय अत्यन्त रहस्यमय बनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.