जन सरोकारस्वास्थ्य

बालबालिकाका लागि पनि खोप ल्याउने प्रक्रिया सुरु

सरकारले अब १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने खोप आयात गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभएको हो ।

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६.६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० (भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा), वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ ।

सरकारले कोभिड–१९ को उपचारका लागि १५७ सरकारी र नीजि अस्पताल सूचिकृत गरी सञ्चालनमा ल्याएको छ । यसैगरी कोभिड–१९ को उपचारका लागि मन्त्रालयले तीन हजार सघन उपचार कक्ष (आइसियु) पुर्याएको छ भने ६३० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव अर्यालले जानकारी दिनुभयो । यस्तै भेन्टिलेटरको सङ्ख्या ९०० रहेको र १८० थप गर्ने प्रक्रियामा छ ।

मन्त्रालयले सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने एक हजार ४०० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ ।

यसै गरी मन्त्रालयले अहिले अक्सिजनको आपूर्ति समेत बढाएको छ । स्वास्थ्य सचिव अर्यालका अनुसार अहिले दैनिक १२० मेट्रिक टन अक्सिजन आपूर्ति भइरहेको छ । यसअघि १५ मेट्रिक टन मात्र अक्सिजन आपूर्ति हुने गरेको थियो । मन्त्रालयले सङ्क्रमणको दोस्रो लहर चलिरहेकै बेला पाँच हजार अक्सिजन सिलिण्डर थप र पाँच हजार ५०० अक्सिजन कन्सट्रेटरको व्यवस्था गरेको छ । थप तीन हजार ५०० अक्सिजन कन्सट्रेटर आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी २७ वटा तरल अक्सिजन टङ्याक थप गर्ने योजनाअन्तर्गत दुई सम्पन्न, चार निर्माण प्रक्रियामा र १० वटा निर्माणका लागि सूचना प्रकाशित गरिएको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमितको मृत्यु दर १.३ प्रतिशत र निको हुने दर ९४.५ प्रतिशत छ । नेपालमा अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । २०७७ चैतको पहिलो सातादेखि २०७८ वैशाखको अन्तिम सातासम्म दोस्रो लहर उच्च विन्दुमा रहेको थियो । गत वैशाख २७ गते सङ्क्रमण दर सबैभन्दा बढी ५१.८ प्रतिशत रहेको थियो ।

जेठ ६ गते सबैभन्दा बढी एक हजार ७४८ जना आइसियुमा र जेठ ८ गतेसबैभन्दा बढी ५२३ जना सङ्क्रमित भेन्टिलेटरमा रहेका थिए । यसैगरी सङ्क्रमणको पहिलो लहर २०७६ माघ ९ गतेदेखि २०७७ साउन ३ गतेसम्म चलेको थियो । उक्त अवधिमा सङ्क्रमण दर ५.६ प्रतिशत रहेको थियो । पहिलो लहरमा सबैभन्दा बढी सङ्क्रमित असार १९ गते देखिएकोमा सङ्क्रमण ओरोलो लाग्दै गत साउन ३ गते ५२ जना पुगेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.