अमिक शेरचनलाई लुम्बिनी र पृथ्वीमानलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिश
सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो । अघिल्लो सरकारले उहाँलाई पदमुक्त गरेको थियो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका शेरचनलाई नेकपा (माओवादी केन्द्र)ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुनुहुन्थ्यो ।
बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी बेबारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्बाट भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्