जन सरोकार

सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ ।

नगपालिकाले शिक्षक तथा विद्यार्थी गरी सात हजार ५०० जनालाई नेपाल टेलिकम र एनसेलले इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएको हो ।

“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुने स्थिति रहेन”, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले भन्नुभयो, “सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षक सिकाइ क्रियाकलाप प्रभावकारी हुन नसकेकाले टेलिकम र एनसेलको सहयोगमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएका हौं ।”

नगरभित्रका १४ वडाका ७२ सामुदायिक विद्यालयका ४५० शिक्षकसहित सात हजार ५०० विद्यार्थीलाई उनीहरुको ठाउँमा जुनजुन कम्पनीको सेवा राम्रो छ सोही अनुसारका सिम उपलब्ध गराइएको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

सामुदायिकतर्फ ५६ आधारभूत विद्यालय र १६ माध्यमिक विद्यालय रहेको नगरपालिकाभित्र पाँच हजार नेपाल टेलिकमका सिमकार्ड र दुई हजार ५०० एनसेलका सिमकार्ड निःशुल्क वितरण गरिएको हो ।

नेपाल टेलिकमको सिमकार्डमा इन्टरनेट प्याकेजका लागि रु ३२१ र एनसेलको सिमकार्डमा रु ३१० ले एक महिनासम्म इन्टरनेट चलाउन सकिने छ । त्यसपछि शिक्षक÷विद्यार्थी आफैले रिचार्ज गर्नुपर्ने छ । “वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै नगरपालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ हो”, सापकोटाले भन्नुभयो, “सबै विद्यार्थी तथा शिक्षकको हात–हातमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाइ क्रियाकलाप थप प्रभावकारी हुने विश्वास लिएका छौं ।”

नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकलाई आइसिटीमा आधारित आधारभूत शिक्षण विधिलाई सहयोग पुग्नेगरी अनलाइनसम्बन्धी ज्ञान दिइसकिएको सूचना प्रविधि शाखाका प्रमुख इञ्जिनीयर प्रकाश अर्यालले बताउनुभयो । सोह« माध्यमिक विद्यालयमा कम्प्युटर र प्रिन्टर वितरण गरिसकिएको छ भने इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी इन्टरनेटको सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।

कोभिड– १९ को महामारीका कारण प्रभावित बनेको शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित, प्रभावकारी र उपयोगी बनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउनुहुन्छ । इन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकिरहेको भन्ने गुनासो आइरहँदा यसको समाधानका लागि इन्टरनेट प्याकेजसहितका सिमकार्ड वितरण गरिएको भट्टराईले बताउनुभयो ।

“सिमकार्डको प्रयोग भए नभएको साथै पठनपाठन भए नभएको निरन्तररुपमा अनुगमन तथा मूल्याङ्कन गरिने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “राज्यले शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल आउने गरी र वालिङलाई स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढाउन लाग्नुपर्ने बेला आएको छ ।”

स्मार्ट सिटी घोषणा भई कार्यान्वयनका क्रममा रहेकाले शिक्षाका क्षेत्रमा निर्धारण गरिएका लक्ष्य भेटाउनका लागि आइसिटीको विशेष टोली बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । कोभिड–१९ का कारण भौतिकरुपमा विद्यालयमा उपस्थित हुनसक्ने अवस्था नभएकाले वैकल्पिक सिकाइ क्रियाकलापका लागि नेपाल टेलिकम र एनसेलको सहयोगमा निःशुल्क सिमकार्डको व्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाणले बताउनुभयो ।

वैकल्पिक कक्षा सञ्चालनका क्रममा आउन सक्ने सम्भावित अप्ठयारालाई सम्बोधन गर्दै विभिन्न विकल्पको खोजी गर्ने क्रममा यो विधि अपनाइएको उहाँको भनाइ थियो । शिक्षासँगै बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको रकम खर्च नभइ लगानी भएको र यसले भोलिका दिनमा उपलब्धि देखिंँदै जाने उहाँको भनाइ थियो ।

“नगरभित्रका माध्यमिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ”, उहाँले भन्नुभयो, “अब आधारभूत तहका विद्यालयमा पनि इन्टरनेटको पहुँच विस्तारका लागि सम्झौता भई काम पनि भइरहेको छ ।” नगरभित्रका १४ वटै वडाका ३१० गाउँमा इन्टरनेटको पहुँच विस्तारका लागि सेवा प्रदायकसँग सम्झौता भई काम अगाडि बढिसकेको नगर प्रमुख खाणले बताउनुभयो ।

गाउँ–गाउँमा इन्टरनेटको सहज पहुँच नपुग्दासम्मका लागि शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था मिलाइएको उहाँको भनाइ थियो । नगरभित्रका सबै विद्यालयका शिक्षकलाई शिक्षण सिकाइ क्रियाकलापमा आधुनिक प्रविधिको प्रयोग गर्ने तरिका तथा विधिका बारेमा यसअघि ज्ञान दिइसकिएको उहाँले बताउनुभयो ।

“नगरभित्रका सबै विद्यालयबाट प्रतिनिधिका रुपमा दुई जनालाई तालीम दिइएको र उहाँहरुले आ–आफ्नो विद्यालयमा अन्य शिक्षकलाई सिकाउनुहुने छ”, प्रमुख खाणले भन्नुभयो, “शिक्षकको क्षमता विकास तथा आवश्यक सामग्री (ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, इन्टरनेट) को व्यवस्था मिलाउने र त्यसको प्रयोगमा जोड दिँदै नगरलाई आइसिटीका रुपमा विकास गर्दै लगिने छ ।”

माध्यमिक तहका १६ विद्यालयलाई कम्युटर, ल्यापटप, स्क्यानर, प्रिन्टर उपलब्ध गराइसकेको छ भने आधारभूत तहका ५६ विद्यालयमध्ये पहिलो चरणमा २४ विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को शिक्षा क्षेत्रको स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत विद्यालयमा कम्प्युटर तथा अनलाइन सफ्टवेयर व्यवस्थापनका लागि रु २० लाख विनियोजन गरेको थियो ।

बाँकी रहेका ३२ विद्यालयलाई यही साउनभित्रै बोलपत्र गरी उक्त सामग्री उपलब्ध गराउने तयारी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास कक्षादेखि १० सम्मका सात हजार ५०० विद्यार्थीलाई उपयोगी हुने सिकाइ सहजीकरण स्वअध्ययन सामग्री पनि उपलब्ध गराइसकेको शिक्षा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.