जन सरोकार

लम्पी स्किन : बिरामी पशुको उपचार गर्न जनप्रतिनिधि र प्राविधिक बुकी पुगे

महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरू बुकीमा पुगेका छन् ।

लम्पीस्किन सङक्रमण

बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा/स्वास्थ्य प्राविधिक र कर्मचारीको टोली परिचालन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा नम्बर ३ का अध्यक्ष देवेन्द्र रोकालगायतको टोली औषधिसहित करिब दुई दिन जङ्गलमा पैदलयात्रा गरेर ढोरपाटन शिकार आरक्ष नजिकैको बुकीमा पुगेको हो ।

जनप्रतिनिधि, प्राविधिक र कर्मचारीको चार वटा टोली रुवाचौर, नौतले, जलजला र धन्समानेको बुकीको गोठमा परिचालन भएको टोलीमा सहभागी धवलागिरि गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले जानकारी दिनुभयो ।

“बर्खामा चरनका लागि बुकीमा लगेका गाईगोरु धमाधम बिरामी परेका र केही मरेका खबर आएपछि औषधि ल्याएर बुकीका खर्कमा आएका हौँ”, गाउँपालिकाका उपाध्यक्ष पुनले भन्नुभयो, “धवलागिरि गाउँपालिकाका कृषकहरूको सबै गोठमा पुगेर बिरामी पशुको उपचार गरेर फर्कन्छौँ ।”

धवलागिरिको वडा नम्बर २ र ३ मा पर्ने लुलाङ, खोरिया, लमसुङ, मुना, फलियागाउँ, दरका कृषकले बर्खामा चरनका लागि गाईगोरु, भैँसी, भेडा लिएर समुद्री सतहदेखि तीन हजार मिटरभन्दा बढी उचाइमा रहेका बुकीमा गोठ लगेका छन् । बुकीमा लम्पी स्किन महामारीको रूपमा फैलिएपछि नियन्त्रण गर्न गाउँपालिकाको टोली त्यहाँ गएको हो ।

लम्पी स्किनबाट बिरामी गाईगोरुको उपचारका लागि गाउँपालिकाले औषधि खरिद गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन विरुद्धको भ्याक्सिन र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाले औषधि उपलब्ध गराएको थियो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले अन्य वडामा पनि औषधिसहित प्राविधिकलाई गोठगोठमा परिचालन गरिएको बताउनुभयो । लम्पी स्किन लागेका वस्तुहरू ज्वरो आउने र शरीरका फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् ।

यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट यो रोगको सङ्क्रमण बढ्ने बताइएको छ । लम्पी स्किनका कारण गाईभैँसी बिरामी पर्दा दूध उत्पादन घटेको छ । गोरु बिरामी हुँदा धान रोपाइँलगायत खेतीबाली लगाउने काम प्रभावित बनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.