लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपालको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको भूमिका रहेको बताउनुभएको हो ।
“नेपालको लोकतान्त्रिक आन्दोलनमा डिएलएको ऐतिहासिक भूमिका रहेको छ, यसलाई कांग्रेसले उच्च मूल्याङ्कन गर्दै आएको छ”, उहाँले भन्नुभयो । पार्टीका उपसभापतिसमेत रहनुभएका खड्काले डिएलएमा आबद्ध कानून व्यवसायीलाई कांग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गर्ने बताउनुभयो । आगामी दिनमा पार्टी डिएलएसँग सरसल्लाह र सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।
कांग्रेस सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले डिएलएले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो सहयोग पु¥याएको बताउनुभयो । कांग्रेस सङ्खुवासभाका सभापतिसमेत रहनुभएका सांसद खड्काले न्यायाधीश नियुक्ति गर्दा डिएलएसँग परामर्श गरेर अगाडि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । पार्टीलाई आवश्यक पर्ने कानूनी परामर्शमा डिएलएका साथीहरूले निःशुल्क गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कांग्रेसले पार्टीनिकट वकिललाई राम्रोसँग हेर्न नसकेको गुनासो गर्नुभयो । उहाँले डिएलएबाट आफूले नेपाल बार एशोसियसनको प्रतिनिधित्व गरेकाले नेपाल बारको साख घट्न नदिनेगरी आफूले काम गरिरहेको उल्लेख गर्नुभयो ।
डिएलएका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले कांग्रेसले जितेका स्थानीय तहमा डिएलए आबद्ध वकिललाई कानूनी सल्लाहकारको रूपमा नियुक्ति गर्न पार्टीले पहल गर्नुपर्ने बताउनुभयो ।
डिएलएका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष बसन्तराम भण्डारीलगायतले योग्यता र क्षमताका आधारमा न्यायलयमा डिएलए आबद्ध कानून व्यवसायीको प्रतिनिधित्व गर्न पार्टी लाग्नुपर्ने बताउनुभएको थियो ।
सोही अवसरमा डिएलएको महाधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्