प्रदेशसुदूरपश्चिम

मुख्यमन्त्री सोडारी विश्वासको मत लिनुहुँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही साउन १८ गते शुक्रबार प्रेदशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री सोडारी

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई बुधबार पठाउनुभएको पत्रबमोजिम सभामुख भीमबहादुर भण्डारीले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने समय तोक्नुभएको सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।

सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा हुनुहुन्छ । तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले साउन १८ गते शुक्रबार विश्वासको मत लिन लाग्नुभएको हो ।

गएको असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर अलपत्र छ । योसँगै प्रदेश सरकारको यही साउन १ गतेदेखि राजस्व सङ्कलन र खर्च गर्नेलगायत गतिविधि ठप्प छन् ।

प्रस्तुत बजेटमाथि प्रदेशसभामा छलफल गर्न ढिलाइ भइरहँदा असार २० गते एमाले सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले अध्यादेशमार्फत बजेट ल्याउने प्रयासस्वरुप असारको अन्तिम हप्तामा वर्षे अधिवेशन (बजेट अधिवेशन) अन्त्य गर्न सिफारिस गर्नुभएको थियो ।

त्यसपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको प्रयास भइरहँदा प्रतिपक्षी नेकपा (एमाले) र नेपाली कांग्रेसले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित माग गर्नुभएको थियो । प्रदेश प्रमुखको आह्वानमा साउन ८ गते सुरु भएको विशेष अधिवेशनअन्तर्गत दुई दिन बसेको बैठक सञ्चालन भए पनि तेस्रो दिनको बैठक मन्त्रीको अनुपस्थितिका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो ।

सुरुका दुई दिनको बैठकमा उपस्थित हुनुभएकी सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई मुख्यमन्त्रीले बर्खास्त गर्नुभएको थियो । नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र), का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)का चार, नागरिक उन्मुक्तिका दुई, स्वतन्त्र एक सदस्यको समर्थनमा गएको वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.