जल/वातावरण

गेग्य्रान बग्दा सिन्धुपाल्चोकमा ठूलो क्षति

मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न लागेको छ, कतै खसिरहेको पनि देखिन्छ भने कतै गेगरको घोल बगिरहेको स्पष्ट देखिन्छ । यसले सामान्य पानी पर्दा पनि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र र नदी तटीय क्षेत्र अझै ठूला जोखिममा रहेको विज्ञ टोलीले निष्कर्ष छ ।

आइतबार स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले यकिन तथ्य आइनसके पनि मुहान क्षेत्रको श्रव्यदृश्य, तस्वीर र आज भएको स्थलगत अध्यनबाट विगतमा बसेको गेग्य्रान भूकम्पले हल्लाएर कमजोर बनाएको र भारी वर्षा हुँदा त्यसलाई बगाएर ठूला क्षति गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विज्ञसहितको टोली आज अध्ययन गरेर फर्किएपछि आकस्मिक रुपमा प्रारम्भिक अध्ययनबारे जानकारी गराएको हो । मेलम्ची माथिबाटै गेगरसहित बगाउँदै र नदी तटीय क्षेत्रसमेत कटान गर्दै आएको छ । गिट्टी, बालुवा गेग्य्रानसहित ठाउँठाउँँमा ठूलो मात्रामा जमेर बसेको पाइएको छ । सामान्य वर्षामा पनि गेगर बगेर आउने हुँदा जोखिम कायमै रहेको छ । ठाडो खोलामा बगेको गेगरको शक्ति बढ्दा खोला किनार कटान गर्दै आएर सबै सोहोरेर ल्याएको पाइएको छ । यसरी गेगरसहित आउँदा त्यसले क्षति बढाउने गर्छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिवकुमार बाँस्कोटा पहिले मुहान क्षेत्रमा हिउँ रहेको र अहिले हिउँ हराएको अध्ययनले देखाएको छ । उहाँ त्यो बेलाको हिम नदीले ल्याएको चीज थुप्रिएको र त्यसलाई भूकम्पले हल्लाएर कमजोर बनाएको अनुमान गर्नुहुन्छ । त्यही कमजोर भूभाग वर्षाले बगाएपछि त्यसले अन्य तटीय क्षेत्रसमेत कटान गर्दै आउँदा लेदोमा परिणत भएर ठूलो क्षति गराएको बाँस्कोटा अनुमान गर्नुहुन्छ ।

प्राधिकरणका हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले सोही कुरा दोहोर्याउँदै त्यही कमजोर भूभाग बगाएर असार १ गते पहिरो गएर एक छिन खोला रोकिएर बगाएको र अहिले पनि त्यहाँ जमेको गेगरलाई नै थप बगाएको पाइएको बताउनुहुन्छ ।

अध्ययन बाँकी नै रहेको बताउँदै उहाँले तत्काल बासस्थान सुरक्षित स्थानमा लैजानुपर्ने र माथिसम्मको अवस्थालाई क्याम्प नै खडा गरेर विस्तृत अध्ययन गर्न जरुरी रहेको पनि बताउनुभयो । विज्ञका अनुसार गेगर १५ मिटरसम्म उचाइसम्म जमेको पाइएको छ । यो सामान्य पानी पर्दा पनि बग्ने अवस्था छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोली हेलिकप्टरबाट विपद् क्षेत्रको स्रोतसम्म पुगी अवलोकन गरेर फर्किएको थियो । सोही टोलीले ल्याएको भिडियो र फोटोका आधारमा विज्ञले विश्लेषण गरेर प्रारम्भिक निष्कर्ष निकालेका हुन् । टोलीका अनुसार कतै झण्डै विमानस्थल जत्रै गेग्य्रान जमेर बसेको छ । अहिले पनि ठूलो मात्रामा झरिरहेको छ । त्यही बगेर आउँदा तल्लो क्षेत्रमा ठूलो क्षति हुन पुगेको र अझै क्षति हुने अनुमान गर्न सकिने देखिएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ अध्ययन संस्थान प्राडा विष्णु पाण्डे अझै कारण के हो भनेर यकिन भन्ने नसकिने बताउनुहुन्छ । उहाँका अनुसार प्रारम्भिक चरणको अध्ययनअनुसार सेटेलाइटबाट पाएको तथ्याङ्कमा थोरै समयमा अत्यधिक पानी परेर बाढी ल्याएको भने नदेखिएको बताउनुभयो ।

अर्का विज्ञ वसन्त अधिकारी जमेको माटो बिस्तारै पानीले खोलेर ऊर्जा बढाएको र त्यसले कटान बढाउँदै वरिपरिको क्षेत्र खसालेर शक्ति पैदा गरेको देखिने सुनाउनुहुन्छ । उहाँले माथिबाट सामान्य रूपमा शुरु भए पनि इनर्जी बढेर तल काट्दै आएको र गेग्य्रानसहित मिसिएर बाढीमा परिणत भएको बताउनुभयो ।

त्यहाँका प्रदेश सांसद निमा लामा माथिको कारण पत्ता नलागेसम्म समस्या समाधान गर्न नसकिने भएकाले तत्कालै अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विज्ञहरूलाई तत्काल अध्ययन गरेर कारण खोज्न पनि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.