राजनीति

भारतीय सेनाको बलमा हत्या गरिएका सहिद भीमदत्त पन्त

किसानको पक्षमा लागेको नारा "कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो"

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका यहाँ किसानको पक्षमा वकालत गर्दै किसान आन्दोलनको मोर्चा सम्हालेका सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइएको छ ।

सहिद पन्तको स्मृति दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरस्थित पार्कमा रहेको पन्तको सालिकमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलदेखि पूर्वउपसभामुख भोजराज जोशीसम्मले माल्र्यापण गर्नुभयो ।

त्यसै गरी स्मृति दिवसका अवसर डडेल्धुराबाट कञ्चनपुरसम्म विविध कार्यक्रम गरी सहिद पन्तप्रति सम्मान व्यक्त गरिँदैछ । विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका पन्तले भारतको उत्तर प्रदेशस्थित सिन्हाइबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गर्नुभएको थियो ।

सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्तिको छविसमेत बनाएका पन्तले कञ्चनपुरमा विसं २००९ मा ब्रह्देवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेपछि नेपाली र भारतीय दुवै देशका शासकहरूको उहाँ विरोधी बन्न पुग्नुभएको थियो ।

अन्याय सामाजिक भेद्भाव सहन नसक्ने पन्तले २००७ सालदेखि आन्दोलनको सुरुआत गर्नुभएको थियो । उहाँलाई सुरुआतमा कांग्रेस भन्ने गरिन्थ्यो ।

कञ्चनपुरको महेन्द्रनगरका साहित्यकार हेमबाबु लेखकले उहाँले २००७ सालमा दिल्ली सम्झौताको विरोध गर्दै कांग्रेस परित्याग गरेको बताउनुभयो ।

“डा केआइ सिंहसित मिलेर दिल्ली सम्झौताको विरोध गर्दै पन्तले सशस्त्र क्रान्ति गर्नुभयो”, लेखकले भन्नुभयो, “तर उहाँ कम्युनिस्ट पार्टीको सदस्य भएको कुनै प्रमाण छैन”, उहाँले भीमदत्त पन्त महान् क्रान्तिकारी योद्धा भएको स्मरण गराउनुभयो ।

“पन्त नमारिएको भए सच्चा क्रान्तिले सफलता पाउने थियो”, लेखकले भन्नुभयो, “सामाजिक विभेद र किसानका पक्षमा वकालत गर्ने योद्धा त्यसपछि यहाँ जन्मिएको सम्झना छैन ।” गरिब, दलित र जनजाति किसानलाई सङ्गठित गरी राणाविरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहेको लेखकको भनाइ छ ।

परिवर्तनको पक्षमा अडान लिएका पन्तले दलित, मगर र थारू सङ्गठित गरी मुक्ति सेना गठन गर्नुभएको थियो । नेपालगन्जका गौरीलाल र रुपसिंह दुई जना सेनाका तत्कालीन कमान्डर हुनुहुन्थ्यो ।

त्यसपछि किसानलाई जालसाजी गर्दै तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुलाई कारबाही गर्न थालिएको थियो । कांग्रेससित वैचारिक भिन्तता आएपछि उहाँले अभिवादन गर्दा जय नेपाल भन्न छाडेर ‘जय जनता’ भन्न थालेको बताइन्छ ।

पन्तको स्मृति, उहाँको योगद्धान र जीवनीसँग सम्बन्धी विभिन्न पुस्तकसमेत प्रकाशित छन् । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडिन टेकराज पन्तले सहिद पन्त यस क्षेत्रको अग्रणी नेता भएका जनाउँदै उहाँले निमुखा जनताको आवाज बुलन्द गर्ने महत्वपूर्ण भूमिका निभाएको जानकारी दिनुभयो ।

“धेरै पहिले यस क्षेत्रका किसान र मजदुरको हकमा ठूलै क्रान्तिको सुरुआत गर्नुभएको थियो”, डा पन्तले भन्नुभयो, “ठूलाबडा साहुमहाजनबाट अत्याचार शोषण हुन्थ्यो, त्यसबाट उन्मुक्तिका लागि आवाज बुलन्द उहाँले नै गर्नुभएको हो ।”

उहाँले सहिद पन्त मानवअधिकारको ख्याल नगरी अलि बढी आक्रामक स्वभावको हुँदा छिटपुटरूपमा आलोचनासमेत खेपेको बताउनुभयो ।

“षड्यन्त्रपूर्वक उहाँको निर्मम हत्या नगरिएको भए आज केही नयाँ कुरो हुन सक्थ्यो”, पन्तले भन्नुभयो, “गरिब र विपन्नको पक्षमा गरेको वकालत इतिहासको पानाबाट कहिल्यै मेटिने छैन ।”

उहाँको विसं २०१० साउन १७ गते डडेल्धुराको साविकको आलिताल र डोटीको छतिवन गाविसको सिमाना क्षेत्रको गल्लेख भन्ने ठाउँमा खाना खाइरहेका बेला दुवै देशको सेनाको टोलीद्वारा संयुक्तरूपमा घेरा हाल्न लगाई पन्तकै मितले उहाँको हत्या गरेको बताइन्छ । हत्या आरोपीका विषयमा अझै पुष्टि भने भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.