बाहिरी क्षेत्रबाटै दर्शन गर्छन् लाखौं भक्तजनले पशुपतिनाथको गजुर
साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ । निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले मूल मन्दिरको गजुरको दर्शन गर्नु पनि पशुपतिनाथको दर्शन गरे बराबरको फल मिल्ने मान्यताले पनि भीड बढेको बताउनुभयो ।
नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले मन्दिर बन्द गरिएको छ । वैशाख पहिलो हप्तादेखि बन्द गरिएको मन्दिर खोल्न निश्चित नभए पनि लाखौँ भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका छन् । बाहिरबाटै दर्शन गर्न भए पनि पशुपति क्षेत्र आएको दोलखाबाट आउनुभएका श्याम उप्रेतीले सुनाउनुभयो । साउनको सोमबार पशुपतिनाथ नखुले पनि बाहिरी क्षेत्रबाटै दर्शन गर्ने उद्देश्यले आएको उहाँले बताउनुभयो ।
शास्त्रीय मान्यताअनुसार मानसिक रूपमा पनि भगवान्को दर्शन गर्न सकिन्छ । यसै विश्वासका आधारमा पनि पशुपति क्षेत्रमा साउनको सोमबार भक्तजनको भीड बढ्ने गरेको छ । पशुपति क्षेत्रमा पाइला टेक्दैमा आनन्दानुभूति हुने अनुभवले आएको बताउने भक्तजनको भीड पनि पशुपति क्षेत्रमा भेटिन्छ ।
पशुपति क्षेत्रमा आएका कतिपय मानिसले भने मास्क लगाएको देखिँदैन । समूह समूहमा मानिस आएका देखिन्छ । यसले गर्दा फेरि मन्दिर क्षेत्रमा जम्मा भएका मानिसकै कारण कोरोना बढ्ने जोखिम त बढ्ने होइन भन्ने त्रास फैलिएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले मास्क नलगाएकालाई लगाउन भन्ने र भौतिक दूरी कायम गरेर व्यवस्थित गरिएको बताउनुभयो ।
पशुपतिनाथ मन्दिरसँगै उत्तरपूर्वी भेगको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । यी मन्दिरमा पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् । यस बाहेकका शहरका भित्री भागमा रहेका मन्दिरमा भने भक्तजनले दूरी कायम गरी पूजा आराधना गरेका छन् ।
मन्दिरमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको भीड लागेको थियो । साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य एवं पारिवारिक सुख प्राप्त हुने, मनोकामना पूर्ण हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्