बारुला पोलेर खाँदा आठजना अचेत
मनाङ सदरमुकाम चामेमा एक होटलमा बारुला पोलेर खाँदा आठजना गम्भीर बिरामी परेका छन् । उनीहरु सबैको अचेत अवस्थामा उपचार भैरहेको छ ।
समाचार अनुसार सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।
बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापा मगर, ४० वर्षीय गुञ्जमान थापा रहेका छन् ।
यसै गरी गोरखा पालुङटार नगरपालिकाका–८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका–८ की ४७ वर्षीया लीला तामाङ, धादिङ रुविभ्याली गाउँपालिका–५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भई नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटेल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले भुईँ बारुला पोलेर खाएका उनीहरूलाई रातिदेखि मुटु, छाती तथा जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको र सबै बिरामी अचेत अवस्थामा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्