राजनीति

आयोजनाका विचौलिया सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका कर्तुत यस्ता छन्

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहनुभएका भट्टलाई बोर्डको प्रमुखमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । बोर्डमा यसअघि राधेश पन्त र महाप्रसाद अधिकारीले प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यसम्पादन गरिसक्नु भएको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।

मन्त्रिपरिषद्का एक सदस्यका अनुसार आगामी चार वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्टलाई नियुक्त गरिएको हो । अर्थमन्त्री डा युवराज खतिवडा संयोजकत्वको समितिले प्रमुख कार्यकारी अधिकृतका लागि भट्टसहित रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

बोर्डले वैदेशिक लगानीका ठूला आयोजनाको संयोजन गर्दै आएको छ । बोर्डले संयोजन गरेको कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हाल निर्माणको क्रममा रहेको छ । यस्तै, नेपाली साझेदारसहितको चिनियाँ कम्पनी होङसीले सिमेन्ट उत्पादन गरिरहेको छ । यस्तै चिनियाँ लगानीकै ह्वासिन सिमेन्ट उद्योग समेत हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

बोर्डले रु छ अर्ब बढी लगानीका आयोजना संयोजन गर्ने नीतिगत व्यवस्था रहेको छ । यस्तै कूल २०० मेगावाट माथिका जलविद्युत् आयोजना समेत बोर्डले नै व्यवस्थापन गर्दै आएको छ । सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७५ ले बोर्डलाई थप शक्तिशाली बनाएको छ ।

यति महत्वपूर्ण निकायमा विदेशी कम्पनीको एजेन्ट बनेर कमिशन खाने र आयोजनाहरु अलपत्र पार्ने भट्टालाई प्रमुख कार्यकारी नियुक्त गर्दा नेपालमा वैदेशिक लगानी र आयोजनाहरुको भविष्य कस्तो हुने हो भन्ने प्रश्न संचार माध्यममा उठ्न थालेका छन् ।

भट्ट नियुक्त भएपछि कान्तिपुर दैनिकले लेखेको समाचार यस्तो छ-

सिंहदरबारबाट निस्किएपछि राष्ट्रिय योजना आयोगको बा२झ १६४५ नम्बरको सरकारी गाडी प्रायः कमलपोखरीस्थित होटल मार्कोपोलो पुग्छ । जहाँ सरकारका योजना बनाउनेबारे कुनै कार्यक्रम हुँदैन, बरु होटलको एउटा कोठामा रहेको एक निजी कम्पनीको कार्यालयमा विकास आयोजनाहरू र सरकारी ठेक्का कसरी हत्याउने भन्ने योजना बनाइन्छ ।

योजना आयोगको सदस्य भइसकेपछि पनि करिब २७ महिनादेखि यही काममा सक्रिय सुशील भट्टलाई सरकारले थप प्रोत्साहन गरिदिएको छ । अर्थात् सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको छ । ‘बैठकमा प्रधानमन्त्रीले शैक्षिक योग्यता, व्यवस्थापन र अन्य मूल्यांकनमा उहाँको नाम एक नम्बरमा रहेको सुनाउनुभयो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने, ‘त्यसपछि बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय भएको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टको योग्यतामा उच्च प्रशंसा गरे पनि नियुक्त हुनुअघि उनीमाथि दुई आरोप लागिसकेका थिए । प्रमुख आरोप थियो– उनी र उनका भाइ दीपक भट्टले विकास निर्माणका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गरेको, काम पाइसकेपछि अलपत्र पारेको, निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गरेको । अर्को आरोप थियो– सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन–२०७५ ले तोकेको अनुभव अवधि पूरा नभएको ।

बोर्डको सीईओका लागि दरखास्त परेका प्रस्तावमाथि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको विज्ञ समितिले अध्ययन गरेको थियो । १२ जनाको प्रस्तावमाथि मूल्यांकन गरेको समितिले समेत अनुभव अवधिबारे औंल्याइदिएको स्रोतको दाबी छ । ऐनको दफा १२ अनुसार बोर्डको सीईओ हुनका लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ, विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको’ हुनुपर्ने छ ।

भट्टले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक र एमबीए (स्नातकोत्तर) गरेका छन् । तर योजना आयोगमा सदस्य भएको करिब २ वर्षको मात्रै अनुभव छ, ऐनले तोकेअनुसार १० वर्षको व्यवस्थापकीय अनुभव पुग्दैन । ‘सार्वजनिक संस्थानहरूको सन्दर्भमा १० तह वा सोभन्दा माथि, बैंक–वित्तीय संस्थाहरूको सन्दर्भमा व्यवस्थापक वा सोभन्दा माथि र अन्य निकायहरूको सन्दर्भमा पनि संस्थाहरूले नै विभिन्न तहलाई व्यवस्थापकीय भन्ने गरिएको छ,’ विज्ञ समितिका एक सदस्यले भने । भट्टले आफ्नो भाइको कम्पनीमा, विभिन्न बैंक र डेनिस सहयोग नियोग (डेनिडा) मा केही वर्ष काम गरेको अनुभव पेस गरेका छन् । ‘त्यहाँ कतै पनि नेतृत्वदायी काम गरेको देखिँदैन । नेतृत्वदायी काम गरेको भन्ने कागज पेस गरे पनि कानुनतः त्यो मिल्दैन,’ समितिका ती सदस्यले भने ।

तर पनि अर्थमन्त्री युवराज खतिवडाले सोमबारको मन्त्रिपरिषद्मा सीईओ नियुक्तिका लागि सिफारिस गरिको प्रस्ताव पेस गरे । ‘लगत्तै भट्टको प्रशंसा गर्दै प्रधानमन्त्रीले नियुक्तिको निर्णय सुनाउनुभयो,’ एक मन्त्रीले भने ।

भट्टसँगै सीईओका लागि विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सरोज कोइरालाको नाम प्रस्ताव गरिएको थियो । ‘व्यापारिक घरानाका र विवादास्पद व्यक्ति भन्ने आलोचनाका बीच भट्टलाई नै नियुक्ति गर्नुको कारण उनीहरूले हाम्रो नेतृत्वमाथि गरिरहेको लगानी भनेरै बुझ्नुपयो,’ नेकपाका एक नेताले भने ।

बोर्डको परिकल्पना र स्थापनामा सक्रिय पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि अहिलेको नियुक्तिलाई त्यसैगरी अर्थ्याए । ‘हाम्रो अर्थ राजनीतिक विश्लेषण गरी सबै मन्त्रालयहरूबीचमा समन्वय गर्न सक्ने स्विकार्य मान्छे चाहिने हो,’ उनले भने, ‘तर अहिले नियुक्त भएका व्यक्ति हेर्दा आयोजनाहरूबाट कमिसन प्राप्त गर्ने र राजनीतिक दललाई बाँड्ने काम हुनेछ ।’ जसले अन्तर्राष्ट्रिय लगानी भित्र्याउने काम हुन नसक्ने उनले बताए । ‘यसरी लगानी आउनेवाला छैन, सानो गिरोह पाल्ने र कमिसन उठाउने व्यक्तिलाई नियुक्त गरेर सरकारले निर्लज्ज काम गर्‍यो,’ उनले भने ।

भट्टराईले भनेझैं कमिसनका लागि मात्रै आयोजना लिने र त्यसपछि अलपत्र पार्ने प्रवृत्तिलाई प्रोत्साहित गरिँदा भट्ट दाजुभाइले जिम्मा लिएका झन्डै दर्जनभन्दा बढी आयोजना अलपत्र छन् । तर पनि भट्टका भाइ दीपकको शीर्ष नेतृत्वसँगको सम्बन्ध र त्यसमाथि पनि प्रधानमन्त्री ओलीसँगको अधिक निकटताका कारण उनी सीईओ हुने गत साता नै निश्चित जस्तो थियो । ‘भट्ट परिवारको व्यवसाय र नेकपा नेता वामदेव गौतमका छोरा हरिश व्यावसायिक साझेदार हुन्,’ एक मन्त्रीले भने, ‘ओलीसँग भट्ट दाजुभाइ निकट, अर्कोतर्फ वामदेवलाई रिझाउनसमेत बाह्य विवादका बीच यो निर्णय भएको हुन सक्छ ।’

सुशील र उनका भाइ दीपक भट्टले विदेशी कम्पनीको एजेन्ट भई यहाँका राजनीतिक दललाई प्रभावमा पारेर ठूला आयोजना निर्माणको ठेक्का हात पार्न बिचौलियाको काम गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीकै जोडबलमा योजना आयोगका सदस्यसमेत भएका भट्ट दाजुभाइको सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । ‘कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा सुशील भट्ट नेपाल व्यवस्थापन संघको अध्यक्ष भएका हुन्, यो सरकार आउनुअघि भट्ट दाजुभाइलाई कांग्रेसनिकट व्यापारी भनेर चिनिन्थ्यो,’ नेकपाका एक नेताले भने, ‘तर ओली प्रधानमन्त्री भएलगत्तै सुशील योजना आयोगका सदस्य भए । बिचौलिया भनेर बाह्य विरोध हुँदाहुँदै पनि पुनः बोर्डको सीईओमा नियुक्त भए ।’

सुशीललाई सीईओ नियुक्त गर्नकै लागि प्रधानमन्त्री ओलीले आफू निकटकै अर्का प्रस्तावकलाई पछि हट्न निर्देशन दिएको स्रोतको दाबी छ । ती व्यक्ति हुन्– पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली । ‘जसले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै बोर्डको सीईओ पदका लागि दरखास्त पेस गरेका थिए,’ सिफारिस समितिका एक सदस्यले भने, ‘पाँच जनाको सूचीमा ज्ञवालीको नाम एक नम्बरमा थियो । लगत्तै प्रधानमन्त्री ओलीले ज्ञवालीलाई बोलाएर तपाईं पुनर्निर्माणमै काम गरिरहनुपर्ने भयो । धेरै काम बाँकी छन् भनेर पछि हट्न लगाए ।’ यो बुझे पनि गत शुक्रबार सिफारिस समितिमाझ कार्यसम्पादनसम्बन्धी प्रस्तुति र अन्तर्वार्तामा ज्ञवाली सहभागी नै भएनन् ।

भट्टको विवादास्पद विगत

भट्ट दाजुभाइ स्थानीय एजेन्ट बनेका कैयौं आयोजनाहरू अलपत्र र विवादित छन् । १२ सय मेगावाटको बूढीगण्डकीलाई चिनियाँ कम्पनी गेजुवालाई पटक–पटक दिने र खोस्ने भूमिकामा भट्ट दाजुभाइ संलग्न छन् । यस्तै, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री–ए विद्युत् आयोजनालाई बढी नाफा खानका लागि ९० मेगावाटमा डिजाइन परिवर्तनका लागि भट्ट दाजुभाइले लबिइङ गरेका थिए । यो विवादकै कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो । यो आयोजना भट्ट स्थानीय एजेन्ट भएको चिनियाँ कम्पनी गेजुवाले निर्माण गरेको हो । गेजुवाले नै साञ्जेन जलविद्युत् आयोजनामा प्रस्तावभन्दा बाहिर गएर ठेक्का सम्झौता गर्न दबाब दिएपछि आयोजनाले सम्झौता गरेन र गेजुवालाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

भट्ट भारतीय कम्पनी ज्यागुआर ओभरसिजको पनि स्थानीय एजेन्ट हुन् । यो कम्पनीले काबेली करिडोर प्रसारण लाइनको जिम्मा पाएको भए पनि निकै ढिला गरी आयोजना सम्पन्न गरेको थियो । सेन्ट्रल चाइना पावर ग्रिडको स्थानीय एजेन्ट भएर भट्टले भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का पाएको थियो । तर कम्पनीले सर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनीको ३० करोड रुपैयाँ जमानत जफत गरेको थियो ।

यही कम्पनीलाई प्राधिकरणले ढल्केबर, इनरुवा र हेटौंडामा सबस्टेसन निर्माणको ठेक्का दिएको थियो । तर ढल्केबर सबस्टेसनमा काम नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । यस्तै, तामाकोसी–काठमाडौं प्रसारण लाइनको काम पनि भट्ट एजेन्ट रहेको ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रिोनिक्सको जेभीले पाएको थियो । तर, काम सुरु नगरेपछि प्राधिकरणले पनि ठेक्का तोडी जमानत जफत गरेको थियो । भट्ट दाजुभाइ स्थानीय एजेन्ट बनेर ठेक्का हात पारेका मातातीर्थ सबस्टेसन, हेटौंडा–भरतपुर प्रसारण लाइन, मर्स्याङ्दी करिडोरजस्ता दर्जनौं आयोजना कि त अलपत्र छन् या काम नगरेर कारबाहीमा परेका छन् । यस्तो विगत थाहा पाउँदापाउँदै सरकारले बोर्डको सीईओमा नियुक्त गरे पनि आयोजनामाथिको थप चलखेल हुने निश्चित छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.