एमालेको संशोधित विधान- अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने, स्थायी कमिटी खारेज
नेकपा (एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । संशोधित विधान अनुसार स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्र कायम गरिएको छ ।
प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । जसमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी हुनेछ ।
सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय समेत गरेको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने उल्लेख छ । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ ।
हाल अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।
यस्तै स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ । प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चुनिने छ ।
यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि लागू हुनेछ । पत्रकारको प्रश्नमा प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म रोकेर पर्खन नसकिने स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्