राजनीति

माओवादीले बृहत् वामपन्थी एकताको पहल गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् वामपन्थी एकताका लागि प्रस्ताव राख्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टीको स्थायी समितिको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ ।

यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको थियो । अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राख्नुभएको थियो ।

अध्यक्षले राख्नुभएको धारणाकाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राख्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताउनुभयो ।

बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उहाँको भनाइ छ । बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.