२७ मिनेटमा अभिव्यक्त नेपाली युवाको वास्तविकता ‘प्याकुली’ (भिडियोसहित)
नेपाली नारीहरुको महत्वपूर्ण चाड तीजको अवसरमा भन्दै संस्कृति र सिर्जनाका नाममा छाडा, भद्दा र अश्लीलता बेच्ने होडबाजीकाबीच एउटा सामाजिक यथार्थ झल्काउने सांगीतिक चलचित्र सार्वजनिक भएको छ ‘प्याकुली’ ।
पैसाको थौलो बोकेर फर्किनुको साटो काठको बाकसमा आफैं पोको परेर जानुपरेको यथार्थता, पति विदेशमा, पत्नीको अर्कैसंग प्रेम, जस्ता अनेक घटनाक्रमलाई दर्शनीय बनाउन पटकथामा बहुपात्रहरु खडा गरेर तयार भएको ‘प्याकुली’ मार्मिक छ ।
यी सबका कारक विदेशिएका श्रीमानका श्रीमतिहरुमाथि कुदृष्टि राखेर आफ्ना गाउँसमाजका कुपात्रले गर्दा हो भन्ने यथार्थतालाई प्याकुलीमा निर्भिक रुपमा चित्रण गरिएको छ ।
हरेक घरका सबै सदस्यका लागि मननीय सिर्जना बनेको प्याकुलीले रोजगारीकै सिलसिलामा मृत्यु, परिवारका लागि साँचेको सपना, गरेको परिश्रमले के दियो भन्ने जस्ता विविध प्रश्नहरुलाई कलात्मक ढंगले सजाइएको छ प्याकुलीमा ।
सामाजिक धमिराहरुले अर्काकी श्रीमतीमाथि कुदृष्टि लगाएपछि कतिसम्म गर्छन् भन्ने यथार्थ यसभित्र देखाइएको छ, जुन आजको वास्तविकता हो ।
गाउँमै केही गर्छु भन्दा सहयोग नपाइने, साहुको प्रभावमा परेर जनप्रतिनिधिले समेत कृषि अनुदान नदिने र अन्ततः विदेश नै लखेटिन बाध्य पार्ने घटना हरेक गाउँको यथार्थता हो । प्याकुलीमा यही कुरा बुनिएको छ ।
निर्देशक नितिन चन्द रामहरि खड्काको रचना र बबुल गिरीको संगीत तथा स्वर र बीचबीचमा रहेका गहन संवादलाई आफ्नै वरिपरी घटेको घटनाकै झल्को दिने गरी सजीव अभिनय गराउन सफल हुनुभएको छ ।
आरआर खड्का, तसिला गुरुङ, महेश खड्का, घनश्याम जोशी, विक्रम खनाल, रमेश न्यौपाने, अर्जुन श्रेष्ठ र बालकलाकार रोनिश खड्काको जीवन्त अभिनय रहेको ‘प्याकुली’लाई गीतबाट एउटा चलचित्र बनाउने गरी पटकथा तयार पार्नुभएको छ शिशिर अर्यालले ।
शिशिर गुरुङको प्रस्तुति, एनआईटिभी टेलिकम जापानको सहकार्यमा तयार भएको सांगीतिक चलचित्र ‘प्याकुली’को छायांकन दिनेश पराजुलीको रहेको छ भने सहायक छायाँकार रमेश पराजुली हुनुहुन्छ ।
सिलन लम्सालको सम्पादन, पुनम चौधरी र सुशमा परियारले कालाकारहरुको पस्तुतिलाई ओजनदार बनाउन भाव अनुसारको श्रृङ्गार गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्