प्रहरी भ्यान दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका गैरहेको प्रहरीको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने डिएसपीसहित पाँचजना घाइते भएका छन् ।
शनिबार दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा सो गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो ।
उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजानेक्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनुगमन तथा नियमित कामको सिलसिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली तकसेरा तर्फ गएको थियो ।
भ्यानमा ६ जना सवारमध्ये पुनसहित ३ जना गम्भीर र ३ जना सामान्य घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, रुकुमपूर्व सशस्त्र प्रहरीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र श्रेष्ठ र प्रहरी जवान इन्द्र घर्ती सामान्य घाइते रहनु भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो ।
घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो ।
गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा सो दुर्घटना भएको थियो । दुर्घटना पछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल खसेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्