राजनीति

युवाप्रति बढेको असन्तुष्टि सम्बोधन गर्न लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवाप्रति बढेको असन्तुष्टि सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल समाजवादी युवा सङ्घले अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर शनिबार ‘भर्चुअल’ मार्फत आयोजना गरेको ‘राष्ट्रिय राजनीतिमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले बेरोजगारका कारण युवाप्रति बढेको चरम असन्तुष्टिलाई सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताउनुभयो ।

“युवामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि समाजवादी युवा सङ्घ लाग्नुपर्छ, रोजगारी र अध्ययनका लागि देश छोडेर विदेश पलायन हुने प्रवृत्ति खतरनाक छ, त्यसलाई रोक्नुपर्छ,” पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो ।

उहाँले १८ देखि ३५ वर्ष सम्मका युवा अति सिर्जनशील हुने भएकाले युवालाई देशभित्र सम्मानपूर्वक ढङ्गले बाँच्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । युवा विवेक र साहस दुवै लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मन्त्री गङ्गानारायण श्रेष्ठले देशभरका करिब ४० प्रतिशत युवाको भावनालाई सम्बोधन गरेर सरकार र राजनीतिक दल अगाडि बढ्नुपर्ने बताउनुभयो । “म प्रदेशको कानुनमन्त्री हो, प्रदेश सरकारले बनाएका कानुनमा युवालाई जुन अधिकार दिनुपर्ने हो, त्यो दिएको देखिँदैन,” उहाँले भन्नुभयो ।

नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दुर्गा शोवले पुरानालाई विस्थापित गर्दै नयाँ युवालाई स्थापित गर्दै अगाडि बढ्न युवालाई आग्रह गर्नुभयो । उहाँले युवाको माग सम्बोधनमा सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल समाजवादी युवा सङ्घका उपमहासचिव तारालाल धरेलले नेपाली राजनीतिलाई अगाडि बढाउन युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । देशको समृद्धि र सामाजिक विकासका लागि युवा नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.