एसियाली फुटबल महासंघले नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला दशरथ रंगशालालाई विश्वकप छनोट चरणको खेल खेलाउन अयोग्य घोषणा गरी प्रतिबन्ध लगायो ।
यो प्रतिबन्धपछि सम्बन्धित निकायका अधिकारीहरुले आफ्नो खुब बचाउ गरे । तर, आज साउन २९ गते एएफसी च्यालेञ्ज लिग अन्तर्गत नेपालको चर्च ब्वाइज क्लब र भुटानको पारो क्लबबीचको खेलले रंगशालाको हविगत देखाइदिएको छ ।
वर्षामा मैदान केही असहज हुनु त स्वाभाविक हो तर, दशरथ रंगशालाको स्तर सुधार र खेल खेलाउनु अघिको मर्मतमा समेत कुनै चासो नदिइएको स्पष्टै देखिएको छ ।
खेलाडीहरु भैंसी आहाल खेलेजस्तो भएका छन् । हिलाम्मे शरीर, एकातिर हानेको बल अर्कोतिर पुग्ने, अनावश्यक फल हुन पुग्ने जस्ता समस्याले खेलको रोमाञ्चकता नै हराएको छ ।
टेलिभिजन प्रत्यक्ष प्रसारणमा खेलप्रति कसैको कुनै प्रतिक्रिया छैन । रंगशालाको नाजुक अवस्थामाथि धेरै टिप्पणी भएको छ । रंगशालाका कारण राष्ट्रको घोर बेइज्जत भएको अधिकांश दर्शकको टिप्पणी छ । मैदानको अवस्थाका कारण खेलाडीहरुको कुशलता देख्न पाइएको छैन भने दर्शकहरु निराश छन् ।
खेलाडीहरु विजयी भए नगद पुरस्कारको घोषणा गर्ने, खेल मैदान बनाउने, स्तारोन्नति गर्ने जस्ता प्रतिबद्धता जनाउने, त्यसको केही समयपछि सबै बिर्सने गर्दा मुलुकको खेलक्षेत्र सरकारी निकायको लगानीले भन्दा पनि खेलाडीको मेहेनतले मात्र चलिरहेको छ ।
दशरथ रंगशालाको यो हविगत अहिले मात्र भएको होइन, विगतदेखि नै यस्तै हो । तर, आजको खेल यति हिलाम्मे मैदानमा खेलाउनुको साटो वैकल्पिक रुपमा आर्मी रंगशाला, एपिएफ वा सातदोवाटोमा खेलाएको भए हुन्थ्यो भन्ने आम टिप्पणी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्