तालिबानलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने तयारी
अमेरिकी सैनिक फिर्ता भएसंगै एकाएक जुर्मुराएको तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अफगान सरकारले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने बताएको छ ।
कार्यवाहक आन्तरिक मामिलामन्त्री अब्दुल सत्तार मिर्जाक्वानले सङ्क्रमणकालीन सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताउनुभएको छ । स्थानीय तोलो टेलिभिजनले प्रसारण गरेको एउटा भिडिओमा उहाँले त्यस्तो बताउनुभएको हो ।
राजधानी छिरेपछि तालिबान समूहले काबुलमा हिंसा नगर्न र त्यहाँबाट बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई विज्ञप्तिमार्फत निर्देशन दिएको समाचारहरुमा जनाइएको छ ।
समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेका हुन् । आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए ।
समाचार संस्था एपीले एक अफगान अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार सत्ता सम्हाल्ने तयारीका लागि तालिबान वार्ताकारहरू राष्ट्रपति कार्यालयतर्फ लागेका छन् ।
अफगान राष्ट्रपति अशरफ गनीले अमेरिकी दूत जाल्माइ खलिलजाद र नेटोका उच्च अधिकारीहरूसँग आपत्कालीन बैठक बोलाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्