भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित पाँच चिकित्सकमा कोरोना सङ्क्रमण
कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ । आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।
काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ ।
तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो सङ्कटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ ।”
जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना सङ्क्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो । अस्पतालका सङ्क्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिनुभएको छ ।
गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले र उहाँकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहनुभएको छ ।
भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन् । तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन् ।
प्रतिक्रिया राख्नुहोस्