उद्धारका लागि नेवानिको जहाज काबुल जाँदै
अफगानिस्तानमा रहेका सम्पूर्ण नेपालीहरुलाई सरकारको सम्पर्कमा आउन आग्रह
सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार अफगानिस्तानमा रहेका नेपालीहरुको सकुशल स्वदेश फिर्तीका लागि नेपाल वायुसेवा निगमको जहाज काबुल जाने भएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमका नेपालीको उद्धारका लागि निगमका जहाज काबुल जाने तयारी अवस्थामा रहेको तर कहिले कसरी जाने भन्ने अझै यकीन भइनसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाजमार्फत दुई टिप गरेर नेपालीलाई स्वदेश फर्काइनेछ । अन्य गैरसरकारी संस्थाका कर्मचारीलाई भने निजी क्षेत्रका हवाई सेवा प्रदायकले दुबही हुँदै गन्तव्यमा उद्धार गर्ने जनाइएको छ ।
महाप्रबन्धक पौडलेले पछिल्लो पटक अफगानिस्तानको विमानस्थलमा भिडभाड र अस्थिरता बढेकाले त्यहाँका कतिपय उडान रद्द गरेकाले उद्धारमा केही कठिनाइ हुनसक्ने बताउनुभयो ।
“अहिले अफगानिस्तान विमानस्थल अवरुद्ध छ, स्थिति नियन्त्रणमा नआएपछि त्यहाँको हवाई प्रशासनले काबुललगायतका विमानस्थल बन्द गराएको छ । नेपाल सरकार नेपालीको उद्धारको नियमित सम्पर्कमा छ । नेपालीहरु सुरक्षित रहेको जानकारी प्राप्त भएका छन् । निगम उद्धारका लागि तम्तयार अवस्थामा छ”, उहाँले भन्नुभयो ।
सरकारले उद्धार गर्नुपर्ने सङ्ख्या यकीन हुनासाथ तत्काल त्यसतर्फ जाने प्रक्रिया आरम्भ गरिने र सोका लागि बढीमा पाँच दिन लाग्ने निगमको भनाइ छ । केही नेपालीलाई रोजगारदाता कम्पनीले नै उद्धार गर्ने बताइएको छ ।
अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेर काम अघि बढाइसकेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकीन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा शनिबार अन्तर मन्त्रालयको बैठक बसेको थियो ।
उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।
यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ ।
अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उद्धारका लागि समन्वय गर्न सम्बन्धित सरकारी नियकाले समन्वय गरेर काम गरिरहेको जानकारी दिनुभयो । अहिलेसम्म कति नेपाल छन् भन्ने यकीन विवरण प्राप्त भइनसकेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्