त्रिवि पदाधिकारी र प्राध्यापकमाथि कुटपिट र धम्की, शिक्षामन्त्रीद्वारा गृहमन्त्री समक्ष सुरक्षा माग
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गृहमन्त्री रमेश लेखक समक्ष त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकहरुलाई आक्रमण गर्ने र धम्की दिने क्रम बढेको भन्दै सुरक्षाको माग गर्नुभएको छ ।
मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको भन्दै सुरक्षाको माग गर्नुभएको हो ।
मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै फेसबुक स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गर्नुभएको हो ।
मन्त्री भट्टराईले गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत गृह मन्त्रालयलाई अनुरोध गर्नुभएको छ ।
“त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।”
केही दिनअघि त्रिवि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद हुँदा आक्रमणको धम्की आएको भन्दै उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार रिजाल हाल बिदामा बस्नुभएको छ ।
त्यस्तै मानविकी तथा समाजशास्त्र संकायकी डीन कुसुम शाक्यले विभागको प्रमुखमा टीकाराम गौतमको नाम सिफारिस गर्दा विभिन्न विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्दै आएका छन् ।
विरोधमा रहेका विद्यार्थीबाटै सुरक्षा थ्रेट भएको त्रिवि पदाधिकारीहरुको भनाइ छ । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पनि त्रिवि पदाधिकारीहरुलाई आउजाउ गर्दा ख्याल गर्न भनेको थियो । त्यसपछि त्रिवि पदाधिकारीहरु असुरक्षित भएको भन्दै बिदामा छन् ।
सामाजिक सञ्जालमा त्रिवि सुरक्षाको माग गरेको सन्दर्भमा विभिन्न टिप्पणी आएपछि मन्त्री भट्टराईले विगत पाँच दिनदेखि गृहमन्त्रीसंग सम्पर्क र समन्व्य गरेको जानकारी गराउँदै लेख्नैपर्ने भएर लेखेको स्पष्ट गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ- “यहाँहरुले मलाई महत्वपूर्ण सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्बजनिक अपिल गर्नु पर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।”
प्रतिक्रिया राख्नुहोस्