नागरिकताका सम्बन्धमा कानून मन्त्रीको ध्यानाकर्षण
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकताका सम्बन्धमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग भेट गरी सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
सो अवसरमा मन्त्री कार्कीले नागकिता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको भन्दै अन्य मिल्न बाँकी असहमतिलाई टुंग्याएर छिट्टै विधेयक पास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री कार्कीले विधेयकमा सरकार सदैव विदेशमा रहेका नेपालीप्रति उदार रहेको उल्लेख गर्नुभयो । संविधानमा व्यवस्था भए बमोजिम र आवश्यक परे नीतिगत सुधार गरेर गैरआवासीय नेपालीका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री कार्कीसहित राष्ट्रिय र प्रतिनिधि सभाका सदस्यहरुको पनि उपस्थिति भेटमा अध्यक्ष पन्तले दुई वर्षदेखि संसदमा विचाराधीन नागरिता विधेयकलाई छिट्टै संसदबाट पारित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । यसपटक पनि विधेयक पास नगरिकनै संसद अन्त्य भएपछि थप ढिलाई भएको भन्दै अध्यक्ष पन्तले नागरिकता विधेयक संसदमै अड्किदा गैरआवासीय नेपाली ऐन संशोधनमा समेत प्रभावित बनेको बताउनुभयो ।
अध्यक्ष पन्तले नेपाल सरकारको सहभागिता सहित गैरआवासीय नेपालीले १० अर्बको लगानी भित्र्याउन सुरु गरिसकेको जानकारी समेत दिनुभयो ।
संघका नागरिकता निरन्तरता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहालले यसमा भएका प्रगति र देखापरेका समस्याहरुबारे बैठकलाई अवगत गराउनु भयो । छलफलमा एनआरएन डेभलप्पमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले गैरआवासीय नेपालीहरुको लगानीलाई प्रोत्साहन गर्दै लगानीका लागि देखापरेका समस्याहरु छिट्टै सम्बोधन भएमा ५० अर्बसम्मको हुन सक्ने जानकारी गराउनुभयो ।
यस्तै सो छलफलमा उपस्थित सम्पूर्ण वक्ताहरुले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धमा साझा समझदारी बनीसकेपनि अन्य केही विषयमा बिमति भएकोले मात्रै विधेयक पास गर्न ढिलाई भएको बताएका थिए । छलफलमा महान्यायधिवक्ता खम्म बहादुर खातीले गैरआवासीय नेपालीहरुले नेपालका लागि गरेको योगदान सम्झेर पनि सरकारले उदारता देखाउनुपर्ने र असहमतिबीचको सहमति खोज्नुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका सभापति एवं उपाध्यक्ष, सोनाम लामा अर्का उपाध्यक्ष रविना थापा, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार कुल आचार्य र टि।बी कार्की, एनसिसि बहराईनका पूर्व अध्यक्ष श्याम तामाङ, सचिवालयका कार्यकारी निर्देशक राजेश राणा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्