सूचना/प्रविधि

प्रतिबन्ध लागेको १० महिनापछि टिकटक खुला गर्ने सरकारको निर्णय

अघिल्लो सरकारले १० महिना अघि सामाजिक सद्भाव भड्काएको भन्दै प्रतिबन्ध लगाएको टिकटक सरकारले खुला गर्ने निर्णय गरेको छ ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० साल कार्तिक २७ गते लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

टिकटकमाथि प्रतिबन्ध लगाइएपछि यस विषयमा निकै विवाद र आक्रोश उत्पन्न भएको थियो । यसबीच बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस सम्बन्धमा केही दिनदेखि सरोकारवालहरूसँग छलफल गरेको थियो ।

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले प्रतिबन्ध हटाएको हो ।

सरकारलाई पटक–पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमै आग्रह गर्दै आएको टिकटकले पनि यसै साता नेपालका सर्तहरू मान्न तयार रहेको व्यहोरासहितको पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो।

पत्रमा टिकटकले नेपालको सामाजिक सञ्जाल व्यवस्थापन इकाइमा सूचीकृत हुन र यहाँका कानुनको परिधिभित्र रहेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएको छ।

सरकारले बन्द गरेपछि प्रयोगकर्ताले भने भीपीएन र ओपन डीएनएसको सहयोगमा टिकटक चलाउँदै आएका थिए । यसबाट ठूलो रकम विदेशिएको भन्दै आलोचना भैरहेको थियो ।

सरकारले प्रतिबन्ध हटाउने निर्णय गरे पनि कहिलेदेखि टिकटक सामान्य रुपमा संचालनमा आउने भन्नेबारे केही बताइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.