राजनीति

बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।

मन्त्री दीपक खड्का

बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा बिहीबार मन्त्रालयमा आयोजित छलफलमा उहाँले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बूढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेकाले आयोजना निर्माणबाट पछाडि हट्ने कुनै ठाउँ नरहेको उल्लेख गर्नुभयो । “बूढीगण्डकी परियोजना अगाडि बढाउन परेको समस्यालाई समाधान गर्दै अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । मन्त्री खड्काले बूढीगण्डकी परियोजनाजस्तै समस्यामा रहेको पञ्चेश्वर बहुउदेश्यीय आयोजनासमेतलाई अगाडि बढाउन सरकारले पहल गर्ने उल्लेख गर्नुभयो ।

बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मधुप्रसाद भेटुवालले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि लगानी मोडालिटीलाई तत्काल टुङ्गोमा लगाउनुपर्ने बताउनुभयो । उहाँले बूढीगण्डकी परियोजनामा कार्यरत करारका कर्मचारीको समस्यासमेत समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गोरखा र धादिङ जिल्लाका नौ स्थानीय तहलाई छुने गरी निर्माण हुन लागेको बूढीगण्डकी परियोजना एक हजार २०० मेघावाट क्षमताको रहेको छ । उक्त परियोजनाको कुल लागत रु तीन खर्ब ९८अर्ब रहेको छ ।

उक्त आयोजना निर्माण हुँदा आठ हजार ११७ घरधुरी प्रभावित हुनेछन् । आयोजना प्रभावित अधिकांश बासिन्दालाई मुआब्जा वितरण गरिसकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.