विश्व समाचार

बोत्सवानामा विश्वको दोस्रो ठूलो हिरा फेला

बोत्सवानामा विश्वको दोस्रो ठूलो दुई हजार चार सय ९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ ।

हिरा

उत्तरपूर्वी बोत्सवानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी ‘लुकारा डायमन्ड कर्पोरेशन’ विज्ञप्तिमा जनाएको छ ।

लुकाराले हिराको मूल्य वा गुणस्तरबारे कुनै जानकारी उल्लेख गरेको छैन । तर क्यारेटको सन्दर्भमा यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको तीन हजार १६ क्यारेटको कलिनन हिरापछिको दोस्रो ठूलो हिरा हो ।

“यो असाधारण दुई हजार चार सय ९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौँ”, लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भन्नुभयो । कम्पनीले सार्वजनिक गरेको तस्बिरले यो हिरा हातको हत्केलाजस्तै ठूलो भएको देखाएको छ ।

यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हिरामध्ये एक हो । ठूलो, उच्च मूल्यको हिरा पहिचान र संरक्षण गर्न सन् २०१७ मा स्थापना गरिएको कम्पनीको ‘मेगा डायमण्ड रिकभरी एक्स–रे’ प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ ।

बोत्सवानाका राष्ट्रपति मोक्ग्वीत्सी मासिसीले बिहीबार यो विशाल ढुङ्गाको अवलोकन गर्नुभएको छ । उहाँको सरकारले यो विश्वको दोस्रो ठूलो हिरा भएको बताएको छ ।

युरोपको सबैभन्दा ठूलो अनलाइन हिरा व्यवसाय ‘७७ डायमण्ड’ का प्रबन्ध निर्देशक टोबियास कोर्मिन्डले यो कलिनन हिरापछि फेला परेको सबैभन्दा ठूलो कच्चा हिरा भएको बताउनुभयो ।

“यो खोजका लागि धेरै हदसम्म नयाँ प्रविधिलाई धन्यवाद दिनुपर्छ”, उहाँले भन्नुभयो । बोत्सवाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादकहरू मध्ये एक हो । यसको आयको मुख्य स्रोत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ३० प्रतिशत र यसको निर्यातको ८० प्रतिशत हिरा व्यवसायसँग सम्बन्धित छ ।

बिहीबार खोजको घोषणा हुनुअघि बोत्सवानामा फेला परेको सबैभन्दा ठूलो हिरा सन् २०१९ मा कारोव खानीमा लुकाराले उत्खनन गरेको एक हजार सात सय ५८ क्यारेटको ढुङ्गा थियो र यसको नाम सेवेलो राखिएको थियो ।

लुकाराले सन् २०२१ मा पनि उही एक्स–रे प्रविधि प्रयोग गरेर बोत्सवानामा एक हजार एक सय ७४ क्यारेटको हिरा फेला पारेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.