आजभोलि हरेक मानिसमा स्वस्थ र खुसी कसरी रहने भन्ने ठूलो चिन्ता रहेको छ । खुसी कसरी प्राप्त हुन्छ भन्नेमा विषयमा लामै चिन्तन हुने गरेको छ । तैपनि मानिसले खुसी र स्वस्थ रहने उपाय पत्ता लगाउन सकेको छैन ।
स्वस्थ शरीर र खुसी मनका लागि मानिसले आफूले आफूलाई चिन्न नसक्दा नै दुःखी भैरहेको हुन्छ । यदि मानिस अलिकति मात्र प्रकृतिसंग निकट रहने हो भने स्वस्थ शरीर र खुसी मन प्राप्त हुन्छ ।
खुसी भौतिक वस्तुले मात्र प्राप्त हुँदैन, अनि स्वस्थ शरीर आधुनिका भनिएका खानेकुरा तथा अन्य विविध उपायबाट मिल्दैन, यसका लागि प्रकृतिको निकट नै रहनुपर्छ । अर्थात् प्राकृतिक कुराहरुको सेवन नै स्वस्थ र सुखी बन्ने आधार हो ।
प्रकृतिले मानिसका लागि आवश्यक सबै कुरा दिएको छ । हामीले यसको प्रयोग गर्न नजान्दा वा गलत किसिमले उपयोग गर्दा यसबाट प्राप्त हुने कुराबाट वञ्चित हुनुपरेको हो ।
आजभोलि भौतिक उन्नतिले शिखर चुमेको पश्चिमा समाजले जीवनलाई सहज, सरल र स्वस्थ बनाउन कृतिम पदार्थमा होइन प्राकृतिक पदार्थमा जोड दिन थालेको छ । उनीहरु प्राकृतिक कुराहरुलाई बढी उपयोग गर्न थालेका छन् ।
मानिस निरोगी बन्न र जवान देखिन अनेक उपाय अपनाउँदछन् । तर, प्रकृतिमा पाइने एउटै वस्तुको सेवन नियमित गर्ने हो भने विविध शारीरिक समस्याहरुबाट मुक्ति मिल्नेछ । मानिसलाई स्वस्थ र जवान बनाइराख्न प्रकृतिले दिएको वस्तु हो ओखर ।
ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि कम गर्न सहयोग मिल्दछ भने हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्दत गर्दछ ।
ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत पनि भएकाले नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम देखिने गरेको हालै भएको एक अध्ययनले देखाएको छ ।
ओखरमा पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ जसमा वनस्पतीमा आधारित ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिड एएलए पनि सामेल हुन्छ । एक औँश अर्थात् २८.५ ग्राम ओखरमा २.५ ग्राम ए एलए पाइन्छ ।
ओखरसँगै फलफूल तथा सागसब्जीको पर्याप्त सेवन, चिनीयुक्त खानेकुरा कम खाने, बोसो तथा सोडियमको सेवन पनि कम गर्ने र रक्सी कम खाने गर्नाले छिटो बुढ्यौलीको लक्षण देखिने समस्या कम हुन्छ ।
जर्नल अफ न्युट्रिसन नामक पत्रिकामा छापिएको पछिल्लो अध्ययनका क्रममा झण्डै ५५ हजार जना महिलालाई सहभागी गराइएको थियो । सो अध्ययनका क्रममा नियमित ओखरको सेवनले बुढ्यौलीका लक्षण छिटो देखापर्ने समस्यालाई पनि कम गरेको पाइएको छ ।
मानव स्वास्थ्यका विषयमा अधिकांश अध्ययनहरु उमेर बढेसँगैको मधुमेह तथा मुटुरोग जस्ता समस्यासँग सम्बन्धित हुन्छन् । तर बुढ्यौलीको बारेमा गरिने अध्ययनको कमी छ । पछिल्लो अध्ययनले भने जवान देखिन ओखर अचुक स्रोत रहेको पत्ता लगाएको छ ।
हाम्रो धार्मिक, सांस्कृतिक अभ्यासमा पनि ओखरलाई विशेष महत्व दिइएको छ । तिहारमा दाजुभाईलाई दिदी बहिनीले भाइटीका लगाएपछि दिइने मसलामा ओखर अनिवार्य हुन्छ ।
त्यस्तै टीका लगाउनु अघि तेलको रेखा हालेर मूलढोकामा ओखर फोरेर बाटो छेक्ने चलन छ । ओखर फोरेर बाटो छेकेपछि यमराज पनि आउन सक्दैन भन्ने मान्यता रहेको छ ।
दाजुभाइको दीर्घायूका लागि दिदीबहिनीले तिहारमा लगाइदिने टीकाको सारदामसंगै मसलामा समेत ओखर अनिवार्य हुनुले यसको महत्व पौराणिक कालदेखि नै स्थापित रहेको तथ्य आधुनिक विज्ञानको पछिल्लो अध्ययनले पनि पुष्टि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्