सेयर बजारका समस्या समाधान गर्न सार्थक प्रयास भैरहेछ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा देखा परिरहेको समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको बताउनुभएको छ ।
आइतबार सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक समारोहमा भिडियो सन्देशमार्फत अर्थमन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
बुकहिलले प्रकाशन गृहले काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे भिडियो सन्देशमार्फत मन्त्री पौडेलले सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताउनुभयो ।
“सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना अभिवृद्धि गर्नेछ”, उहाँले भन्नुभयो ।
सट्टेबाजी नगरी सेयरबाट पैसा कमाउने वेञ्जामिन ग्राहमका एक सय वर्ष अघिका सुत्रलाई आधार बनाउँदै सेयरबाट धनसम्पत्ति बढाउने सुत्र र रणनीति यस पुस्तकमा प्रस्तुत भएका बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँले बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सुत्र उपयोगी हुन सक्ने बताउनुभयो । “आफ्नो जोखिम लिने क्षमता मूल्याङ्कन गरी सेयर बजारमा तनाबमुक्त तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विभिन्न आधार सुत्रात्मक तबरले समेटिएको पुस्तक हो, सेयर सुत्र”, उहाँले भन्नुयो ।
सेयर बजारबारे आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक भट्टराईको यस पुस्तकको बजार मूल्य रु चार सय ९९ तोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्