जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि
विश्वमै सबैभन्दा बढी आत्महत्या गरिने देश जापानमा पछिल्लो समय बालबालिकाको आत्महत्याका घटना बढ्न थालेका छन् ।कोरोना भाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका आत्महत्याका घटना यस वर्ष बढी देखिएपछि सरोकारवालाहरुमा थप चिन्ता बढेको छ ।
कोरोना भाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ ।
अघिल्लो वर्ष ४ सय ९९ बालबालिकाले आत्महत्या गरेकोमा यस वर्षको नौ महिनामै अघिल्लो वर्षको भन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
विज्ञहरुले विद्यालय जान नपाउँदा, बाहिर घुमफिर, हिँडडुल, खेलकुद गर्न नपाउँदा बालबालिकाहरूमा मानसिक समस्या भएर आत्महत्याका घटना बढेको हुनसक्ने अनुमान गरेका छन् ।
लामो समयसम्म घरमा बस्नुपर्ने बाध्यताले यस्ता घटनाहरू बढेको विश्वास गरिएको छ। विज्ञहरूले बालबालिकाको मनोविज्ञानको ठीक व्यवस्थापन तथा उपचारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
बालबालिकाले गर्ने आत्महत्याका घटना कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अहिले सरोकारवालाहरूलाई ठूलो चिन्ताको विषय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्