एनआरएनए आईसीसी महासचिवमा डा पौडेलको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्टिय सम्मेलन तथा महाधिवेशनबाट आगामी नेतृत्वका लागि डा केशव पौडेलले महासचिवको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले कुल आचार्यको टिमबाट महासचिवमा उम्मेदवारी दिने जनाउनुभएको हो ।
एनआरएनए एनसीसी अमेरिकामा दुर्इपटक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभका लोकप्रिय एनआरएन अभियन्ता डा. पौडेल एनसीसीहरुलाई बलियो बनाउने एजेन्डा सहित आफुले संघको केन्द्रीय महासचिवमा उम्मेदवारी दिन लागेको जनानुभएको छ ।
एनसीसीहरुलाई स्वायत्त अधिकार दिने र आइसीसीलार्इ नाम जस्तै समन्वयकारी भूमिका निर्वाह गर्ने संस्था बनाउने उहाँको योजना छ । सदस्यतादेखि स्थानीय स्रोत परिचालन लगायतका विषयमा आइसीसीले एनसीसीहरुमा हस्तक्षेप गर्न नहुने डा. पौडेलको अडान छ ।
विद्यार्थीकालदेखि नै सामाजिक काममा सक्रिय डा. पौडेल सन् २०१३ देखि एनआरएन अभियानमा सक्रिय हुनुहुन्छ । पूर्व अध्यक्ष शेष घलेले तयार गर्न लगाएको एनआरएनए भिजन २०२० एण्ड बियण्ड”लाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिंदै आउनुभएका पौडेल एनआरएनका मुद्दाहरूका बारेमा पनि जानकार मानिनुहुन्छ ।
डा। पौडेल आइसीसीको कार्यशैलीमा पनि परिवर्तन गर्नु जरुरी रहेको बताउँदै व्यवहारलाई पारदर्शी बनाउन सकियो भने धेरै समस्या आफैं समाधान हुनेमा विश्वस्त हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ ‘संघमा संचार र अन्य थुप्रै विषय पारदर्शी छैन । नेतृव विकास, एनसीसीहरुको विवादलाई न्यूनीकरण, सहजीकरणभन्दा रोक्ने, विभेद गर्ने र विवाद बढाउने जस्ता काम धेरै भएका छन् । संघमा संस्थागत विकासका लागि गर्नुपर्ने दर्जनौं काम बाँकी छन् ।’
एनआरएन भन्नासाथ सबैले गर्व गर्नसक्ने वातावरण निर्माण गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुहुने पौडेल आइसीसीले पछिल्लो समय सबै एनसीसीहरुलाई कुनै एउटा देशमा विद्यमान कानुनका आधारमा निर्देशित गरेकोप्रति पनि असन्तुष्टि छ ।
नेतृत्वमा रहेका पदाधिकारीहरुले मात्रै होइन, संघका पञ्जीकृत सदस्यदेखि आम प्रवासी नेपालीहरुले महशुस गर्दै आइरहेका यी र यस्तैै समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहने उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्