मुढेबल देखाउन खोज्दा अनिष्ट हुनसक्छ : डा. भट्टराई
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले धरानमा उत्पन्न पछिल्लो अवस्थाप्रति गम्भीर हुँदै समयमै समाधानको बाटो नखोजे अनिष्ट हुनसक्ने बताउनुभएको छ ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत उहाँले धर्म, संस्कृति, राजनीति मानव जातिको साझा खोजीको विषय भएको र यो अझै खोजीमै रहेको भन्दै यसको नाममा शान्ति खलबल्याउन नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ- “समाज र देशमा शान्ति,एकता,सद्भाव कायम हुनैपर्छ! समाज र राज्यको उत्पत्ति भएदेखिको मानवजातिको यो साझा चाहना र खोजी हो। बुद्ध र अरस्तुदेखि मार्क्स र गान्धी हुॅदै हाम्रो पुस्तासम्म यो क्रम जारी छ।
विचार,दर्शन,धर्म,संस्कृति,राजनीतिका विभिन्न धार र हाॅगाविगा यसैको खोजीमा आविष्कार/संश्लेषण भएका हुन्। यो खोजी संसारभर अझै पूर्ण भएको छैन।यो मानवजातिको साझा खोजीमा सबैले इमान्दारीपूर्वक योगदान गरौं।
हाम्रो विचारमा समाज र राज्यमा वास्तविक र दिगो शान्ति,एकता,सद्भावनिम्ति सत्य र न्यायको स्थापना र पक्षधरता अपरिहार्य हुन्छ ! असत्य र अन्यायको वीचमा उत्पीडित पक्ष जानेर वा नजानेर चूप बस्यो भने पनि सतहमा शान्ति,एकता,सद्भाव भएजस्तो देखिन्छ! तर त्यो वास्तविक र दिगो हुॅदैन।
त्यसैले वास्तविक र दिगो शान्ति,एकता,सद्भावनिम्ति सत्य र न्याय वेलैमा स्थापित गर्न सबैले उत्तिकै ध्यान दिनुपर्छ कि? नत्र सतहमुनिको ज्वालामुखीलाई नदेखैं झैं गरेर बस्दा वा मुढेबल र कुतर्कको स्याउलाले छोप्न खोज्दा भोलि झन् ठुलो अनिष्ट हुनसक्छ।”
प्रतिक्रिया राख्नुहोस्