जन सरोकार

स्थानीय सीप र स्रोतको सदुपयोग : अल्लोको कपडा बुन्न व्यस्त कुलुङ दम्पती

नेपालका ग्रामीण भेगममाा कायम रहेका परम्परागत सीप र स्थानीय स्रोतको प्रयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण एक होइन अनेक छन् ।

स्थानीय स्रोतमा आधारित सीप अन्तर्गत पर्दछ अल्लोको कपडाा । आजभोलि विदेशमा समेत निकै माग रहेको अल्लोको कपडाले पहाडी जिल्लामा उद्यमशीलताको विकास गरिरहेको छ ।

यस्तैमा पर्दछन् सङ्खुवासभाका कुलुङ दम्पती । यो जोडी अहिले यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ ।

आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उहाँहरू सङ्खुवासभाबाट चितवन आउनुभएको हो ।

चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उहाँका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गर्नुभएको हो ।

मनकलाले भन्नुभयो, “हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।”

सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्नुहुन्थ्यो ।

त्यसैको जगमा उहाँ आज एक व्यवसायी बन्न सफल हुनुभएको हो । उहाँले सुनाउनुभयो, “म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।”

पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आउनुभयो । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गनुर््हुन्थ्यो । जब उहाँहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उहाँहरु सदरमुकाम खाँदबारीतर्फ लाग्नुभयो ।

सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आउनुभएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उहाँका श्रीमान्को साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ ।

कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।”

अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ ।

खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ ।

कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उहाँहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौँ हो । मनकलाले भन्नुभयो, “फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।”

कुनैबेला आफैँ कामदार रहनुभएकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उहाँ बताउनुहुन्छ । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो ।

आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाउनुभयो, “आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो”, उहाँले भन्नुभयो । श्रीमान्कोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताउनुभयो ।

देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाउनुभयो, “सबै योजना उनकै (मनकला) हो ।” उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उहाँहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत हुनुहुन्छ भने छोरा विद्यालयस्तरमा अध्ययनरत हुनुहुन्छ ।

चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउनुहुन्छ । देवेन्द्रले भन्नुभयो, “धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।”

ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा उहाँलाई खुसी लागेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।

अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगारी

देश-विदेशमा बजार रहेको अल्लो आम्दानीको राम्रो स्रोत

जब बकाइनो, अल्लो र कालो निउरो क्यान्सरको औषधि रहेको पत्ता लाग्यो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.