खेलविविध

पारा ओलम्पिकमा पदक विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने

खेलकूदको विकासका लागि खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार नेपालको खेलकूद इतिहासमै पहिलोपटक पारा ओलम्पिकमा काँस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले नेपाल सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउनुहुनेछ । यो ओलम्पिकमा कुनै पनि खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।

फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा पलेशाले शनिबार के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा २१ वर्षीया पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै काँस्य जित्नुभएको हो ।

पलेशाले पहिलो चरणको खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । तर, क्वार्टरफाइनलमा उहाँ ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित हुनुभएको थियो ।

दोस्रो चरणमा पराजित भएपछि रिपाचेजको मौका पाउनुभएकी उहाँले फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले हराउँदै काँस्यको भिडन्त पक्का गर्नुभएको थियो । त्यसपछि उहाँले अन्तिममा सर्वियाकी मारिजालाई स्तब्ध बनाउँदै काँस्य पदक आफ्नो पोल्टामा पार्नुभएको थियो

राष्ट्रिय खेलकुद विकास नियमावलीमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग), विश्व च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कारबारे उल्लेख गरिएको छ ।

सोही नियमावलीमा भएको ब्यवस्था अनुसार गत वर्ष चीनको होङझावमा चौथो एसियाली पारा खेलकुदमा पनि काँस्य जित्नु भएकी पलेशाले १३ लाख रुपियाँ पुरस्कार पाउनुभएको थियो ।

यस्तै नियमावली अनुसार पलेशाको प्रशिक्षकले पाँच लाख ८५ हजार, व्यवस्थापकले दुई लाख ९२ हजार र सम्बन्धित खेल सङ्घले ११ लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.