पाल्पा–बुटवल र नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो ।
गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । राति केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
माथिबाट पहिरो खस्ने क्रम जारी छ । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र छन् । अहिले पनि पानी परिरहेको छ ।
पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुश्किल भएको छ । पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।पाल्पा बुटवल र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
यसै गरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन ।
पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्