‘आगो लगाइदिन्छु’ भन्ने अवस्था आउनुको कारण यस्तो रहेछ (विज्ञप्ति सहित)
शनिबार राति काठमाडौं महानगपालिका प्रमुख बालेन साहले आजलाई भयो, अबदेखि हाम्रो महानगरका सवारीसाधन रोकेमा सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने टिप्पणी गरेपछि आइतबार विहानैदेखि यही विषयले संचारमाध्यम तथा समाजिक सञ्जाल रंगियो ।
सरकारबा बिरुद्ध उग्र टिप्पणी गर्न धक नमान्ने बालेनको यो अहिलेसम्मकै कडा अभिव्यक्ति थियो र यसले मुलुकमा हिंसा भड्काउनेसम्मका तर्क गरिए । तर, यसो भन्नुको कारण खोतल्न कसैले चासो दिएनन् ।
यसबीच आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाको नालीबेली खोलेको छ । सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ।
दुई पृष्ठ लामो विज्ञप्तिमा ट्राफिक प्रहरीको दुव्र्यवहारप्रति सम्बन्धित निकाय सचेत हुनुपर्ने सुझाव दिंदै गलत आचरण भाएका प्रहरीमाथि निगरानी गर्न समेत अनुरोध गरिएको छ ।
घटनाको खुलासा गर्दै विज्ञप्तिमा भनिएको छ- ‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए।
सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’
सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरे । ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ- सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ।
प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ। कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो।
कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो।
आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिने, कुनै ठुलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ।
यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं।
सचिवालयले गलत आचरण भएका केही प्रहरीहरूमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाई राख्न सरकार र ट्राफिक प्रहरीलाई आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्