राजनीति

बजेट आउने, कार्यान्वयन नहुने समस्याको अन्त्य हुनुपर्छ : उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले बजेट विनियोजन हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

उपसभापति वाग्ले

तनहुँको बन्दीपुरमा जारी तीज गीत सप्ताहन्न उत्सवको तेस्रो दिन सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा वाग्लेले तनहुँ क्षेत्र नम्बर १ मा विकास निर्माणका लागि रु एक अर्ब ६० करोड बजेट आएको उल्लेख गर्नुभयो ।

तनहुँ क्षेत्र नम्बर १ का सांसद रहनुभएका वाग्लेले भन्नुभयो, “जनताले तिरेको करलाई नै जिल्लाको विकास निर्माणमा पठाइएको हो । यो कसैले खल्तीबाट दिने होइन । यो क्षेत्रमा ठूलो बजेट आएको छ । अब हाम्रो जिम्मेवारी यसलाई कार्यान्वयनमा लैजाने हुनुपर्छ ।”

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा त्रिभुज आयोजनाका लागि रु दुई सय करोडको आयोजना सञ्चालन हुन लागे पनि सरकार परिवर्तन भएकाले के हुन्छ अहिल्यै भन्न नसकिने वाग्लेको भनाइ थियो ।

डा वाग्लेले सदनमा जनताका मुद्दा, सुशासनका कुरा, विकास निर्माणका सवाल उठाइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गर्व गर्न लायक सांसद बन्छु भनेर प्रतिबद्धता जनाएको थिएँ, त्यही अभियानमा निरन्तर लागेको छु ।”

डा वाग्लेले तीज पर्व नेपाली महिलाको सशक्तीकरणका लागि महत्त्वपूर्ण पर्व रहेको बताउनुभयो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबैले सबैको चाडपर्वमा साथ दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “नेपाल सबै जातजाति, धर्म, संस्कृतिमा मिलेर बसेको मुलुक हो । हाम्रो एकताको प्रयासलाई तोड्ने प्रयास नभएको पनि होइन ।”

तीजलाई पर्यटनसँग जोडेर तीज सप्ताहन्न उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक किरण पोखरेलले जानकारी दिनुभयो । बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिको व्यवस्थापनमा भदौ १५ गतेदेखि सुरु भएको उत्सव कार्यक्रम २२ गतेसम्म सञ्चालन हुनेछ ।

तीज गीत प्रतियोगितामा ५० समूहको सहभागिता रहेको छ । प्रतियोगिता प्रथम हुने समूहलाई रु एक लाख एक हजार, द्वितीय हुने समूहलाई रु ७५ हजार, तृतीय हुनेलाई रु ५० हजार र सान्त्वना हुनेलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने पोख्रेलले जानकारी दिनुभयो ।

सप्ताहन्न कार्यक्रममा राष्ट्रिय कलाकारहरू प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगायतको प्रस्तुती रहने बताइएको छ ।

सोही अवसरमा धार्मिक शक्तिपीठहरू सिद्धेश्वर महादेव, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, तीनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.