गण्डकीराजनीति

‘डेढ करोडमा मन्त्रालय कांग्रेसलाई बेचिदिएँ’ भन्दै मनाङ्गे गण्डकी सरकारबाट बाहिर

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङ्गे हरेकपटकको सरकार गठनमा निर्णायक बन्दै आएका दीपक मनाङ्गे पाँच महिनाको बीचमा तीनपटक मन्त्री बन्दै बाहिरिंदै गर्नुभयो ।

विगत पाँच महिनामा संघीय सरकार परिवर्तनकाबीच पाँच महिनाको अवधिमा गण्डकी प्रदेशमा तीनवटा सरकार बन्यो र तीनवटैमा मनाङे्गेको समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत लिन सफल हुनुभयो ।

पछिल्लो समय कांग्रेस माओवादी, त्यसपछि एमाले माओवादी र अहिले कांग्रेस र एमाले सत्ता समीकरण भएपछि गण्डकी प्रदेशको सरकार पनि अस्तव्यस्त थियो । कहिले बहुमत नपुग्ने, कहिले अदालतले खारेज गर्ने जस्ता काम हुँदै गर्दा दीपक मनाङ्गे निर्णायक हुनुहुन्थ्यो ।

गण्डकीका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समर्थन गरेर भौतिक पूर्वाधार मन्त्री बन्नुभएका मनाङेका विवादास्पद गतिविधिका कारण एमालेले हटाउन दवाव दिइरहेको थियो ।

तर, मुख्यमन्त्री पाण्डेले संकटका बेला विश्वासको मत दिएर सहयोग गरेको भन्दै मन्त्रीमा कायमै राखिरहेका बेला सोमबार एमालेको सहभागितामा प्रदेश मन्त्रिमण्डल हेरफेर भएपछि भने दीपकले पदबाट राजीनामा दिनुभयो ।

नयाँ गठबन्धन बनेपछि भागवण्डा पुर्याउन गण्डकीमा मन्त्रालय संख्या ९ बनाएपछि ५ वटा कांग्रेसले र ४ वटा एमालेले लिने सहमति भएको थियो । कांग्रेसले मनाङ्गे र फणिन्द्र देवकोटालाई आफ्नो कोटाबाट मन्त्री बनाएको थियो । मनाङेले छाडेपछि अब वन मन्त्रालयमा कांग्रेसबाट मन्त्री बन्नेछन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिँदा एमालेबाट प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री, पद्मा जिसी कृषि, भूमि व्यवस्था तथा सहकारी, कृष्णप्रसाद पाठक स्वास्थ्यमन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री बन्नुभएको छ ।

कांग्रेसबाट अर्थमा डा. टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणीन्द्र देवकोटाको जिम्मेवारी यथावतै रहेको छ ।

तर मुख्यमन्त्री पाण्डेले मनाङ्गेले सम्हालेको भौतिक पूर्वाधारसहित ४ मन्त्रालय एमालेलाई दिएर मनाङेलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि उहाँले राजीनामा दिनुभयो ।

सत्ता भागवण्डाको खेलमा आफू पिल्सिएको र काम र बजेट नै नभएको मन्त्रालय दिएको भन्दै राजीनामा दिनुभएका मनाङ्गेले मन्त्री बन्दाबन्दा अल्छी लागेको बताउँदै कांग्रेसलाई डेढ करोडमा मन्त्रालय बेचिदिएँ भन्दै बाहिरिनुभएको थियो ।

सत्ताको अंकगणितमा निर्णयक बन्दै गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालसम्म आइपुग्दा मनाङ्गे छैठौं पटक मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.