एकीकृत समाजवादीले गर्यो जिम्मेवारी बाँडफाँड
नेकपा एमालेबाट अलग्गिएर गठन भएको नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टी स्थायी कमिटी, सचिवालय सदस्य र सुदूरपश्चिम बाहेकका प्रदेश इञ्चार्जहरु चयन गरेको हो ।
![Khanal-Nepal](https://www.nepaljapan.com/wp-content/uploads/2021/04/Khanal-Nepal-e1617333803159-1.jpg)
राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको बताइएको छ ।
नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल हुनुहुन्छ ।
त्यस्तै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।
प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने चयन भएका छन् । यसैगरी गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला हुनुहुन्छ ।
उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल हुनुहुन्छ भने जगन्नाथ खतिवडाले प्रचार विभाग प्रमुख रश्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।
यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ भने संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।
त्यसै गरी पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा गर्न १३ सदस्यीय समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री र गणेश विक हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्