कर्पोरेट/पर्यटनजन सरोकार

पाण्डेलाई मरणोपरान्त ‘टुरिजम लाइफटाइम अचिभमेन्ट’ अवार्ड

स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपी प्रसाई ‘टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४’ प्रदान गरिएको छ ।

श्यामबहादुर पाण्डे

पिपी प्रसाई फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाण्डेका छोरा प्रवीण पाण्डेले प्रदान गर्नुभयो ।

होटल सङ्घ नेपालका पूर्वअध्यक्ष तथा साङ्ग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो ।

त्यसैगरी, फाउन्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ विभिन्न शिक्षकलाई प्रदान गरिएको छ । जसमा कोशी प्रदेशबाट, श्री फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट श्री जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

साथै गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट श्री कालिका मानवज्ञान मावि, बुटवलका युवराज कँडेल, कर्णाली प्रदेशबाट श्री अमरज्योति मावि, सुर्खेतका अशोककुमार राई र सुदूरपश्चिम प्रदेशबाट श्री सरस्वती माविकी चन्द्रकला दवाडी प्रदान गरिएको छ ।

उहाँहरुलाई जनही रु ५० हजारसहित सम्मान गरिएको हो । सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई रु १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

यसैगरी, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत रु एक लाख राशिको पुरस्कार श्री राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरुको बुझाइ, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि तथा लब्धप्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरिएको फाउन्डेसनले जनाएको छ ।

विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।

यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने फाउन्डेसनको योजना छ । फाउन्डेसनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ ।

शिक्षासम्बन्धी पुरस्कारको निर्णायकमा धनञ्जय अधिकारी, टीका भट्टराई, रोशना सुब्बा र रिजुता महर्जन हुनुहुन्थ्यो । लाइफटाइम अचिभमेन्ट अवार्डको छनोट पर्यटनसम्बन्धी संस्थामा आबद्ध व्यक्तिको समूहले गरेको सञ्चारकर्मी एवं फाउन्डेसनका सचिव दिलभूषण पाठकले बताउनुभयो ।

नटराज टुर एन्ड ट्राभल्सका संस्थापक प्रसाईको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षाको विकासको सपनालाई आत्मसात् गर्दै २०६७ साल फागुन ६ गते फाउन्डेसनको गठन गरिएको हो । प्रसाईको विसं २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.