कर्पोरेट/पर्यटन

भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्नको चासो

निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । पोखरा विमानस्थल आन्तरिक उडानले धानेको छ भने भैरहवा लगभग ठप्पकै अवस्थामा छ ।

यसबीच चीनको चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न चासो दिएको बताइएको छ ।

बिहिबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसंग भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएको हो ।

चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्नेमा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।”

मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पार्नुभयो ।

साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो । त्यसै गरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत बताउनुभएको छ ।

४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्समध्येको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।

चीनको ग्वाङजाओबाट हाल काठमाडौँमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.