जन सरोकारस्वास्थ्य

बाँकेमा अज्ञात रोगको महामारी, थप एकको मृत्यु, अवस्था नियन्त्रणमै

बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन् । केही दिनअघि गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चारजनाको मृत्यु भएको थियो ।

मृत अवस्थामा ४ जना फेला

नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उहाँको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गङ्गापुर स्वास्थ्यचौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिनुभयो ।

बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउने क्रम बढेको स्वास्थ्यचौकी इञ्चार्ज बुढाथोकीले बताउनुभयो ।

“यो बेला मौषमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्यचौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्” ।

उहाँले भन्नुभयो, “झाडापखालाको प्रकोप छैन, तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्यचौकीमा जाँचका लागि आउनेक्रम बढेको छ ।”

स्वास्थ्यचौकीमा बिहीबार एकैदिन एक सय छजना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उहाँले जानकारी दिनुभयो ।

जसमध्ये ४५ जनाले आउ र पखालाको लक्षण देखिएको छ । त्यसमध्ये तीनजनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ ।

अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामीहरू फेलापरेको स्थानीय सोहनलाल यादवले बताउनुभयो । गेग्ली गाउँ र सोनवर्षामा गरी चारजनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उहाँको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौषमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गर्नुभयो । गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा कुनै पनि किसिमको सङ्क्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.