राजनीति

सत्ताधारीकै कारण लोकतन्त्रमा अनिष्ट निम्तिदै : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माता र संविधानको रक्षाका लागि भन्दै विगतमा आन्दोलन गरेका वर्तमान सत्ताधारीकै कारण लोकतन्त्रमा अनिष्टको संकेत देखिएको टिप्पणी गर्नुभएको छ ।

कोशी प्रदेशमाा सत्ताधारी दलले सरकारलाई बहुमत पुर्याउन सभाध्यक्षलाई समेत मतदान गर्न लगाएर संविधान मच्ने काम भएको भन्दै सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्नुभएको हो ।

डा. भट्टराईले हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो। यसैलाई देखाएर देशी र विदेशी पुनरूत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत भैरहेको आरोप समेत लगाउनुभएको छ ।

उहाँ लेख्नुहुन्छ-

नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो! पहिलेको सत्ताधारी पक्षले जानीजानी दुदुइ पटक संविधान मिचेर संसद विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालत मार्फत सच्याइएको थियो।

त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नं प्रदेशमा त्यसरी नै दुइदुइ पटक संविधान र कानून मिचेर सभामुख/सभाध्यक्षलाई मतदान गराउॅदै अबैधानिक ढंगले सत्तामा टासिने हर्कत गर्यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गर्यो।

हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रकानिम्ति ठूलो अनिष्टको संकेत हो। यसैलाई देखाएर देशी र विदेशी पुनरूत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत भैरहेछन् ।

एकातिर दिनदहाडै खुकुरी नचाउॅदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी/बाबाहरूको भेषमा जनताको अग्रगामी/लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक हो।

यो संगीन घडीमा संघीय लोकतान्च्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन नयाॅ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको छ। अब यसवारे कुनै किन्तुपरन्तु गर्ने ठाउॅ र समय रहेन। देश र जनतालाई माया गर्नेहरू सबै गम्भीर बनौं; आवश्यक पहल गरौं !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.