राजनीति

जनहितलाई सर्वाेपरि ठानेर काम गर्न मन्त्री यादवको आग्रह

जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जनहितलाई सर्वाेपरि ठानेर काम गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

मन्त्री यादव

जसपा पर्सागढी नगर समितिद्वारा शनिबार वीरगञ्जमाआयोजित विस्तारित बैठकमा उहाँले समाजवादको मार्गदर्शनअनुसार जनहितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

उपमहासचिव यादवले पर्सागढीको विकास र समृद्धिका लागि ठोस योजना बनाएर कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “स्थानीय जनताका समस्यालाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो, “हामीले पर्सागढीका आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष प्याकेज लिएर आउँदैछौँ ।”

मन्त्री यादवले आफूले यहाँका जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शनिबारै वीरगञ्ज महानगरपालिका–२१ मा आयोजित सम्मान कार्यक्रममा मन्त्री यादवले जनप्रतिनिधि जनताको सशक्तीकरण र सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी वीरगञ्जलाई समृद्ध र विकासको नमूना सहर बनाउने योजना लिएर आएका छौँ । यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ ।”

मन्त्री यादवले स्थानीयस्तरको विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छन् ।

त्यसैले सरकार र जनताको संयुक्त प्रयासबाटै विकास अतिविधि अगाडि बढाउन लागौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले मन्त्री यादवको नेतृत्वमा स्थानीय विकास योजनाहरू प्रभावकारी ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.