जन सरोकार

बाल संरक्षण केन्द्रका एक बालकको शव फेला, एक बेपत्ता

दोलखाको भिमेश्वर नगरपालिका–१ स्थित अधिकारका लागि बाल संरक्षण केन्द्र नेपाल नामक संस्थामा बस्दै आएका एक बालकको शव जङ्गलमा फेला परेको छ ।

बालिका मृत फेला

यही भदौ १२ गते विद्यालयबाट उक्त संस्थामा आश्रित दुई बालक सम्पर्क विहीन भएका थिए । उनीहरुको खोजि गरिदिन प्रहरीलाई आग्रह गरी निवेदन प्राप्त भए पश्चात् प्रहरीले खोजतलास गर्दा एक बालकको शव शनिबार फेला परेको हो ।

एक बालक अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शत्रुधनकुमार महतोले जानकारी दिनुभयो । केन्द्रमा बस्दै आएका दुई बालकहरु गतवर्ष पनि यसैगरी हराएका थिए ।

उनीहरु अझै फेला परेका छैनन् । यही भदौ १२ गते भीमेश्वर–१ बुद्ध प्राथमिक विद्यालयबाट हराएका दुई बालकमध्ये एक बालकको हात्ती छहरा नजिकको घना जङ्गलमा शव फेला परेको हो । अभिभावकविहीन उनीहरू भीमेश्वर–१ सुस्पाको अधिकारका लागि बाल संरक्षण केन्द्रमा आश्रित थिए ।

सर्लाही हरिवन नगरपालिका– १ स्थायी ठेगाना भएका १३ वर्षीय विशाल थापामगर र स्याङ्जाका १० वर्षीय सुशील रानामगर दिउँसोको खाजा खाएपछि विद्यालयबाटै सम्पर्क विहीन भएका थिए । १० दिनपछि शनिबार साँझ प्रहरीले विशालको शव जङ्गलमा सडेको अवस्थामा फेला पारेको हो ।

गतवर्ष पनि साउन २३ गते सोही केन्द्रमा आश्रित रही उक्त विद्यालयमा अध्ययनरत ११ वर्षीय बालक रामेछापका धनबहादुर नेपाली र नौ वर्षीय सोलुखुम्बूका अनिल सुन्दास हराएका थिए ।

विशाल र सुशीललाई केन्द्रले काठमाडौँबाट उद्धार गरेर ल्याएको थियो । उनीहरु किन विद्यालय छाडेर सम्पर्कविहीन भए भन्ने रहस्य खुल्न सकेको छैन । केन्द्रमा अभिभावक नभएका र सडकबाट उद्धार गरिएका बालबालिका राख्ने गरिएको छ । भूकम्पपछि उक्त केन्द्र खुलेको हो । केन्द्रमा हाल आठ देखि १८ वर्षसम्मका ३१ जना बालक र किशोरहरू छन् ।

विशालको शव भेटिएपछि केन्द्रमा बसेका बालकहरू किन भागिरहेका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले उक्त जङ्गलमा अर्का बालकको खोजी गरिरहेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले केन्द्रबाट गतवर्ष र अहिले गरी चार जना बालक हराएको र त्यसमध्ये एक जना मृत फेला परेको बताउनुभयो । विद्यालय गएका उनीहरु केन्द्र छाड्ने गरी दिउँसोको समयमा भागेको बताइएको छ ।

केन्द्र र विद्यालय दुवै जङ्गल क्षेत्रमा छ । त्यहाँबाट भागेका बालकले बाटो पहिल्याउन कठिन हुने र जङ्गलको बाटो प्रयोग गर्ने गरेको प्रनाउ खड्काले बताउनुभयो । “विशालको शव फेला परेको स्थान नजिकै घना जङ्गल छ, भाग्ने क्रममा दुवै जनाले बाटो बिर्सिएको हुनसक्ने वा अन्य केही कारणले विशालको मृत्यु भएको हो त्यो अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय अधिकारकर्मीहरुले भने अधिकारका लागि बाल संरक्षण केन्द्र नेपाल नामक संस्थाको लापरबाहीका कारण बालकहरु हराउने गरेको र संस्थाले गैरजिम्मेवार ढङ्गले कार्य गरेको आरोप लगाएका छन् ।

संस्थाले बालबालिकाको नाममा दातृ निकायको पैसा चरम दुरुपयोग गरि जङ्गलमा संरक्षण केन्द्र चलाउँदा समस्या निम्तिएको आरोप अधिकारकर्मी राजन बस्नेतको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.