जापान

नेपालीका समस्या एकीकृत रुपमा समाधान गर्ने प्रतिबद्धता

जापानमा रहेका नेपालीहरुले भोग्नुपरेका साझा समस्याहरुको एकीकृत समाधानका लागि नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानसहित नेपाली संघसंस्थाहरुको वृहत अन्तरक्रिया सम्पन्न भएको छ ।

सेप्टम्बर १० तारिक आइतबार टोकियोको शिनओकुबो स्थित सोलमारी मुरा हलमा सम्पन्न अन्तरक्रियामा आपसी सहयोग तथा सेवा प्रदानमा एकरूपता ल्याउने लगायतका विषयमा गहन छलपल भएको थियो ।

जापानमा नेपालीहरुको बढ्दो समस्यालाई सम्बोधन गर्न साझा धारणा बनाई साझा लक्ष्य लिएर अगाडि बढ्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

एनआरएन जापानका अध्यक्ष नविन निउरेको सभापतित्व र नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सिध्दार्थ श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै उपनियोग प्रमुख जोशीले संघसंस्थाहरुबीच कार्यगत एकता गर्दै समस्याको समाधानमा केन्द्रीत रहने उद्देश्यले गरिएको उक्त कार्यक्रमबाट ठोस नतिजा हासिल हुनेमा आफु बिश्वस्त रहेको बतानुभयो ।

नेपालीहरुको समस्यालाई सम्बोधन गर्ने हेतुले गरिने यस्ता गतिबिधिहरुमा राजदूतावासको सँधै सहयोग र सहकार्य रहने समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

जापानका दर्जनौ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा एनआरएन आइसीसी उपाध्यक्ष भूषण घिमिरेले जापानमा एनआरएन, संघसंस्था र नेपाली राजदूतावासबीचको कार्यगत एकता सम्बन्धका विषयमा प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा एनआरएनका पूर्व महासचिव जिज्ञानकुमार थापाले जापानका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा प्रस्तुति दिनुभएको थियो ।

त्यसै गरी पत्रकार तिलक मल्लले नेपाली संघसंस्थाहरुबीच सहकार्य र समन्वय कायम गर्दै समस्या समाधानका लागि साझा धारणा बनाई अगाडि बढ्नका लागि तय गरिनुपर्ने मार्गचित्र बिषयक अवधारणपत्र प्रस्तत गर्नुभएको थियो ।

जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलाराम श्रेष्ठले जापानमा बस्दै गर्दा अत्यन्त ध्यान दिनुपर्ने फौजदारी तथा श्रम सम्बन्धि कानूनी प्रावधानका बारेमा विशेष प्रस्तुवत रहेको थियो ।

सहभागिहरुले कार्यक्रमका लागि कार्यक्रम गरिने बढ्दो प्रवृत्ति, पिकनिक (बिबिक्यु), तीज, नाचगान जस्ता उस्तै उस्तै प्रकृतिका कार्यक्रमहरुको देखासिकी बढी भएको गुनासो गरेका थिए ।

त्यसै गरी चन्दा आतंकले पारेको हैरानी, कार्यक्रमहरुको खस्कदो गुणस्तर, वक्ता चयनमा असावधानी जस्ता कारणले संघसंस्थाहरुले गर्ने कार्यक्रमप्रति सर्बसाधारणको आकर्षण घट्दोक्रममा रहेको बताएका थिए ।

कार्यक्रमको अन्तमा, छलफलमा उठेका बिषयहरुसंग सम्बन्धित जिज्ञासाको उत्तर एनआरएनए अध्यक्ष निउरेले जबाफ दिनुका साथै प्रस्तोताहरु मार्फत प्रस्तावित बिषयमा सहभागीहरुको राय र सुझावलाई मनन गर्दै आवश्यक गृहकार्य गरी साझा फोरमको ढाँचा र स्वरुप निर्माण गर्न ५ सदस्यीय कार्यदलको घोषणा गर्नुभएको थियो ।

सो कार्यदलमा भूषण घिमिरे, तिलक मल्ल, डा. बलाराम श्रेष्ठ, जिज्ञानकुमार थापा र शालिकराम भण्डारी रहनुभएको छ ।कार्यदललाई एक हप्ताभित्र आफ्नो जिम्मेवारी पूरा गर्न म्याण्डेट दिईएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.